पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जिल्लामा करिब ८ प्रतिशत बालबालिका अझै पनि विद्यालयको पहुँचबाहिर रहेको उल्लेख गर्दै यस विषयमा गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। गैरसरकारी संस्था महासंघ नेपाल, पर्साद्वारा आयोजित “स्व. अर्चना गुप्ता महिला सशक्तिकरण स्मृति पुरस्कार” वितरण समारोहमा उहाँले पर्सालाई मधेश प्रदेशकै तुलनामा विकसित जिल्ला भए पनि बालबालिका र महिलाको अधिकार सुनिश्चित गर्न अझै साझा प्रयास आवश्यक रहेको बताउनुभएको हो।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै अर्यालले विद्यालयसम्म बालबालिका पुर्याउनु गैरसरकारी संस्था र सरोकारवालाहरूका लागि ठूलो चुनौती रहेको औंल्याउनुभयो। साथै, महिला सशक्तिकरणका क्षेत्रमा पनि अझै धेरै काम गर्न बाँकी रहेको भन्दै महिला अधिकारको संरक्षणमा कडा कदम चालिनुपर्ने बताए।
जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयमा दैनिक २–४ महिला सम्बन्धी उजुरी आउने बताउँदै अर्यालले कानुनी रूपमा विवाह दर्ता, नागरिकता नपुर्याउनेविरुद्ध कारबाही आवश्यक रहेको र महिलाले न्याय नपाउँदासम्म कडा कदम चालिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा सखुवाप्रसौनी गाउँपालिका–१ की सामाजिक अभियन्ता तुलसी पौडेल अधिकारीलाई यस वर्षको स्व. अर्चना गुप्ता महिला सशक्तिकरण स्मृति पुरस्कार प्रदान गरिएको थियो। उनी विगत दुई दशकदेखि महिला अधिकार, सशक्तिकरण र बालबालिका क्षेत्रमा सक्रिय रहदै समाज परिवर्तनमा योगदान दिँदै आएकी छिन्।
नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा नगद ११ हजार रुपैयाँ र दोसल्ला ओढाएर सम्मान गरिएको थियो। गैरसरकारी संस्था महासंघ नेपाल, पर्साका अध्यक्ष छठु साहको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्र, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, रेडक्रस पर्साका सभापति वृजकिशोर पटेल, समाजवादी प्रेस संगठन नेपालका सचिव बृजलाल पासवान, गैसस महासंघ मधेश प्रदेशका उपाध्यक्ष नरेश जयसवाल र स्व. अर्चना गुप्ताका पति शिवचरण रौनियार लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा गैसस महासंघका उपाध्यक्ष सुरज पण्डितले स्वागत मन्तव्य राखेका थिए भने ललन तिवारीले स्व. अर्चना गुप्ताको जीवनी प्रस्तुत गरेका थिए। स्व. गुप्ताको असामयिक निधन गत वर्ष वैशाख ९ गते भएको थियो।



