पर्सा — एक महिनादेखि बन्द रहेको भारतिय कुखुराको चल्लाको तस्करी पर्साको अमरपटी नाकाबाट फेरि सुरु भएको छ। सुरक्षा निकाय र तस्करहरूबीचको मिलेमतोका कारण अवैध चल्ला ओसारपसार निरन्तर भइरहेको छ।
स्रोतका अनुसार, सशस्त्र प्रहरीको घुमुवा टोलीले उच्च अधिकारीको नाममा मासिक रकम लिई भारतिय चल्लाको तस्करीमा सहजीकरण गरिरहेको छ। अमरपटीका स्थानीय व्यापारी स्वरुप र सन्दीपले यस नाकाबाट चल्ला नेपाल भित्र्याउँदै आएका छन्। नेपाल प्रहरी र पशु क्वारेन्टाइन कार्यालय समेत मौन बसेको आरोप लगाइएको छ।
यी अवैध चल्लाहरू पर्साका विभिन्न पोल्ट्री फार्ममा पुर्याइरहेका छन्। केही हप्ताअघि सशस्त्र प्रहरीले बिन्दवासिनी क्षेत्रबाट ७,५०० चल्ला नियन्त्रणमा लिएर नष्ट गरेको थियो, तर अहिले त्यही निकायका केही व्यक्तिहरू आर्थिक लाभको लोभमा तस्करहरूसँग मिलेर काम गरिरहेका छन्।
यस अवैध कार्यले जनस्वास्थ्यमा खतरा निम्त्याउने र स्थानीय कुखुरा व्यवसायमा अनुचित दबाब सिर्जना गर्ने भएकोले सम्बन्धित निकायले गम्भीर ध्यान दिनुपर्ने देखिएको छ।



