वीरगञ्ज । शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा समाजसेवी प्रकाश उपाध्यायले मानव सेवा आश्रममा आश्रित व्यक्तिहरूलाई रात्री भोजन गराएका छन्।
वीरगञ्ज महानगरपालिका–२५ स्थित मानव सेवा आश्रममा बिहीबार आयोजित कार्यक्रममा उपाध्यायले आश्रममा आश्रित करिब ५० जनाका लागि शुद्ध शाकाहारी भोजनको व्यवस्था गरेका हुन्। कार्यक्रममा सारदुल भट्टराई, सुवास भट्टराईलगायतको उपस्थिति रहेको थियो।
चाडपर्वको समयमा समाजका अधिकांश मानिसहरू परिवार तथा आफन्तसँग मिठा परिकार खाँदै हर्षोल्लासका साथ पर्व मनाइरहँदा आश्रममा आश्रित व्यक्तिहरूले पनि खुसी र आत्मीयताका साथ चाडपर्व मनाउन सकून् भन्ने उद्देश्यले भोजन कार्यक्रम आयोजना गरिएको समाजसेवी उपाध्यायले बताए।
उनले चाडपर्व आफ्नो परिवार र आफन्तसँग मात्र खुसी साटासाट गर्ने अवसर नभई समाजमा रहेका असहाय, बेसहारा तथा विपन्न व्यक्तिहरूको दुःख र पीडामा साथ दिने महत्वपूर्ण अवसरसमेत भएको उल्लेख गरे।
समाजमा रहेका असहाय तथा सहाराविहीन व्यक्तिहरूलाई माया, सम्मान र सहयोगको आवश्यकता रहेको बताउँदै उपाध्यायले यस्ता मानवीय सेवाका कार्यले सामाजिक सद्भाव, सहयोग र भाइचाराको भावना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
चाडपर्वको अवसरमा आश्रममा आश्रित व्यक्तिहरूलाई भोजन गराउने कार्यले उनीहरूमा आत्मीयता र खुसीको अनुभूति गराउनुका साथै समाजमा मानव सेवा, परोपकार र सामाजिक उत्तरदायित्वको सकारात्मक सन्देश प्रवाह गरेको छ।
‘मानव सेवा नै सबैभन्दा ठूलो धर्म’ भन्ने भावनालाई आत्मसात् गर्दै चाडपर्वको खुसी असहाय तथा बेसहारा व्यक्तिहरूसँग बाँड्ने उद्देश्यले गरिएको यस मानवीय कार्यको सहभागीहरूले प्रशंसा गरेका थिए।


