Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home धर्म

छठपर्व : पूजा विधि र यसको इतिहास

by अनलाईन वीरगंज
प्रकाशित : २०८० मंसिर २,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । छठ पर्व हरेक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि चार दिनसम्म मनाइन्छ । यस वर्ष (२०८०) यो पर्व मङ्सिर २ र ३ गते परेको छ । षष्ठीका दिन अस्ताउँदो सूर्यलाई सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिनुपर्ने परम्परा हो तर तिथिको घटबढले गर्दा ३ गते बिहान ७ः५२ मा नै षष्ठी सकिएर सप्तमी लाग्छ । त्यो सप्तमी पनि ५ः ३९ बजे नै सकिन्छ । पवित्र मनले सूर्यलाई अर्घ दिँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ ।

यो पर्व नेपालको तराई र भारतको उत्तरी क्षेत्रका हिन्दुहरूले मनाउने पवित्र र महत्त्वपूर्ण सांस्कृति पर्व हो । यो पर्वलाई भाषागत रूपले हेर्दा भोजपुरी र मैथली संस्कृतिमा मौलाएको पाइन्छ । पहिला पहिला नेपालको तराई क्षेत्रमा मात्र छठ मनाएको देखिन्थ्यो । तर हाल नेपालको पहाडी भूभाग र विश्वको विभिन्न भागमा जहाँ जहाँ हिन्दु धर्मावलम्बीहरू बसेका छन् त्यहाँ त्यहाँ यो पर्व श्रद्धा एवं भक्तिपूर्वक मनाउन थालेको पाइन्छ । यसमा सूर्यको उपासना र षष्ठी भगवतीको पूजाअर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गरिन्छ ।

कार्तिक शुक्ल चतुर्थीका दिन व्रतारम्भ वा पूवाङ्ग गरिन्छ । पहिलो दिन विधिवत् रूपमा सुरु भएको दिनलाई खर्ना भनिन्छ । पहिलो दिन व्रतालुहरूले निष्ठापूर्वक पवित्र नदी वा जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सक्खरको खीर पकाई एक छाक मात्र प्रसादका रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि खुवाउने चलन छ ।

छठको दोेस्रो वा पञ्चमीका दिनमा व्रतालुहरू पानीसमेत नपिई निराहार बस्छन् । साँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई पानीमा डुबेर स्नान गर्दछन् ।

तेस्रो वा षष्ठीका दिन व्रतालुहरूले त्रिवेणी वा ठूला नदी दोभान वा नदी सागर पोखरीको किनारमा सूर्यलाई र छठीमैयालाई चढाउने सामग्रीहरू नदी वा पोखरीको किनारमा लगेर सजाइन्छ । यस पर्वमा धेरै किसिमका फलफूल नैवद्य तयार गरिन्छ । यसका साथै चामलको पिठोको खीर तयार गरिन्छ । व्रतालुहरू पानीभित्र पसेर बअस्ताउँदो सूर्यलाई अर्घ दिएर पूजा आराधना गर्दछन् । सूर्यार्घमा निम्न चिजहरू राखिन्छ ।

पानी, दूध, कुश, दही, तिल, अक्षता, दूबो र सस्र्युं गरी आठवटा वस्तु राखिन्छ । एउटा सिङ्गो फल पनि राखिन्छ । यी चिज राख्दै गर्दा निम्न मन्त्र उच्चारण गरिन्छ । अर्घसँगै शङ्खअर्घ पनि तयार गरिन्छ । शङ्खअर्घ भनेको पूजा गर्ने सानु शङ्ख उत्तानो पारी राख्ने र माथिका सबै वस्तु यसमा पनि राख्नु हो ।

आपः क्षीर कुशाग्राण्री दध्याश्च तिलतण्डुलान् ।

दूर्वा सिद्धार्थकं चै व अष्टाङ्ग अर्घउच्चते

अर्घको पूजा गर्ने मन्त्र : ब्राह्मणो दर तीर्थानी करैः पृष्ठाति ते रवे ।

तेन सत्वेन देवेश तीर्थदेहि दिवाकरम् ।

शङ्ख अर्घ : शङ्खादौ चन्द्र दैवत्यं कुशावारुण देवताम् ।

पृष्टे प्रजापतिश्चैव तस्मात शङ्ख प्रपुजयते ।।

अर्घलाई चन्दन अक्षताले ४ पटक पूजा गरिन्छ :

ॐ गङ्गादि सर्वतीर्थेभ्यो नम ः

ॐ धर्मपद दशकलात्मने बन्हिमण्डलाय नमः

ॐ अर्थपद द्वादशकलात्मने सूर्यमण्डलाय नमः

ॐ कर्मपद षोडसकलात्मने चन्द्रमण्डलाय नमः ।

धेनुमुद्रा, अंकुश मुद्रा र मत्स्य मुद्रा देखाइन्छ ।

सूर्यार्घस्तुति । सूर्यलाई अर्घः 

अर्घ दिँदै गर्दा अर्घको आधा चिज मात्र सूर्यलाई चढाएर आधा जति बाँकी त्यही राखिन्छ । बाँकी भोलिपल्ट सूर्योदय हुँदा दिने अर्ध यसैले दिइन्छ । सूर्यार्घ दिँदा भन्ने मन्त्र ।

सुन्दर वर्णाय सुमङ्गलाय, सुवर्ण वर्णा भरणाय तुभ्यम् ।

पद्माभ नेत्राय सुपङ्कजाय, ब्रह्मेन्द्र नारायण कारणाय ।।

सु–रत्त पूर्ण स–सुवर्ण तोयं, सु–कुङ्कुमाद्य सु–कुशं सु–पुष्पम् ।

प्रदत्त मादाय सहेम पात्रं, प्रशस्त अघ्र्यं भगवान नमस्ते ।।

नमः शिवाय शान्ताय सगणय दि हे तवे ।

रुद्राय विष्णवे तुभ्यं ब्राह्मणे सूर्यमूर्तये ।।

एहि सूर्य सहस्रांशो तेजोरासी जगत्पते ।

अनुकम्प मयां भक्त्या गृहाणार्थ दिवाकरम् ।।

रातभर सूर्यको आराधनामा मग्न भएका भक्तहरूले भोलिपल्ट वा सप्तमीका दिन बिहान उदाउँदो सूर्यको पुनः पूजाआजा गर्दै व्रतालुहरूले हिजो अर्घ दिँदा बाँकी रहेको अर्घ र शङ्खअर्घ दिन्छन् । साथै पुुनः अञ्जुलीमा जल भरेर सूर्यार्घ चढाइन्छ । पालैपालो पक्वान्न, ऋतुफल र सुक्खाफल पठकुवा, भुसुवा, फलफूल र मिठाई जस्ता प्रसाद अर्पण गरिन्छ । प्रसादमा उखु, केराउ, केरा, नरिवल, मिठाई, चना, ठेकुवा, कसार, कागती र अदुवा राखिन्छ । शुद्ध घिउमा गहुँको पिठोबाट निर्मित ठेकुवा र चामलबाट निर्मित कसारको विशेष प्रसाद चढाइन्छ ।

उदाउँदो सूर्यलाई अर्घ दिँदा निम्न श्लोक पाठ गरिन्छ ।

तापत्रय हर दिव्यं परमा नन्दलक्षणाम् ।

तापत्रय विनासाय तावार्घ मर्पयामह्यम् ।।

अर्घ गृहाण ब्रह्मज्ञ गन्धपुष्पाक्ष तैर्युक्तम् ।

करुणाकर विप्रेषेण प्रशन्नो भव सर्वदा ।।

सूर्यार्घको काम सकेपछि षष्ठीदेवीको पूजा आराधना गरिन्छ । षष्ठीदेवीको मुर्ती सिँगारेर झकिझकाउ बनाइन्छ । षष्ठीका देवीलाई पूजा गर्दा भने निम्न श्लोक पाठ गरिन्छ ।

जगन्मातार्जगदात्री जगदा नन्दकारिणी ।

प्रशिद मम कल्याणी नमस्तु षष्ठी देवते ।।

यसरी उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठी माताको पूजाआजा गरिन्छ । भाकल गर्नेहरूको सबै मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यो व्रत गर्नाले चर्मरोग छिटो निको हुने पनि विश्वास गरिन्छ

छठीमैयाको पूजा सकेपछि त्यो वर्षको छठ पर्व विसर्जन भएको मानिन्छ । व्रत विसर्जन गरेपछि सूर्य र छठीमैयालाई चढाएका प्रसाद आफन्त तथा छिमेकीलाई वितरण गरिन्छ । नदी तथा तलाउमा सिँगारिएका वस्तुहरूलाई पनि विसर्जन गरिन्छ । पाउना आएका आफन्तहरूलाई पनि यथोचित भोजन गराई बिदाइ गरिन्छ ।

छठ पर्वको इतिहास

सृष्टिको सुरुदेखि नै मानिसले सूर्यको उपासना गरिँदै आएको पाइन्छ । अग्नि पुराणमा पनि षष्ठीदेवीको व्रतको प्रसङ्ग उल्लेख छ । चौध वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेको बेला द्रौपदीसहित पाण्डवले पनि यो व्रत गरेको वर्णन महाभारतमा पाइन्छ । त्रेता युगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको बताइन्छ । कात्तिक महिनामा मनाइने छठलाई शारदीय वा ठूलो छठ भनिन्छ । चैत्र शुक्ल षष्ठी तिथिमा पनि केही ठाउँमा यो पर्व वसन्तीय षष्ठी मनाइन्छ । सभार : रातोपाटी

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !
मुख्य समाचार

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !

प्रकाशित : २०८० मंसिर २,शनिबार
वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न
मुख्य समाचार

वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न

प्रकाशित : २०८० मंसिर २,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद