वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिकाले कृषकलाई रोटाभेटर र मोटर पम्प वितरण गरेको छ ।
जगरनाथपुर गाउँपालिकाद्वारा सञ्चालित धान उत्पादन प्रवर्द्धन कार्यक्रमअन्तर्गत कृषकहरूलाई कृषि सामग्री वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायले जानकारी दिए ।
गाउँ कार्यपालिकाको कार्यालयमा बिहीबार एक कार्यक्रमको बिच गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले धान उत्पादन प्रवर्धन कार्यक्रम अन्तर्गत छनौटमा परेका कृषकहरूलाई रोटाभेटर र मोटर वितरण गरेका थिए ।
कृषि सहजताको लागि ५० प्रतिशतको अनुदानमा रोटाभेटर र मोटर वितरण गरिएको गाउँपालिका अध्यक्ष यादवले बताए । उनले रोटाभेटर र मोटर वितरणले कृषकलाई खेती गर्न सहज हुनुको साथै कृषि उत्पादन बढ्ने विश्वास व्यक्त गरे ।
गाउँपालिकाको कृषि शाखाबाट वडा न १ देखि ६ सम्मका १० कृषकहरूलाई रोटाभेटर र ७१ कृषकलाई कृषि मोटर पम्प वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत रायले जानकारी दिए ।