वीरगञ्ज । उज्यालो नेपाल पार्टीका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार रामकिशोर सिंह (पराग)ले आज वीरगञ्ज महानगरपालिका वडा नं. ४ बिर्ता टोल तथा वडा नं. ५ कुम्हालटोलमा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ।
कार्यक्रमका क्रममा उम्मेदवार सिंहले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गरी उनीहरूका समस्या, सुझाव तथा अपेक्षाहरू सुन्नुभएको थियो। उहाँले आफू वडा नं. २० बाट निर्वाचित हुँदा हासिल गरेको अनुभव र जनतासँग नजिकबाट काम गर्दा बटुलेको ज्ञानलाई संसद भवनसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले जमीनी तहमा रहेका जनसमस्याहरूलाई प्राथमिकताका साथ उठान गर्ने तथा देश विकासका लागि आवश्यक र प्रभावकारी कानुन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने बताउनुभयो।
सिंहले आफ्नो मुख्य एजेन्डाका रूपमा शिक्षा, स्वास्थ्य र रोजगारीलाई अघि सार्दै स्थानीयवासी तथा युवाहरूलाई प्राथमिकता दिने नीति अवलम्बन गर्ने स्पष्ट पार्नुभयो। “स्थानीय स्रोत र जनशक्तिको उपयोग गर्दै युवालाई अवसर सिर्जना गर्नु नै समृद्धिको आधार हो,” उहाँको भनाइ थियो।
घरदैलो कार्यक्रममा स्थानीयवासीको उत्साहजनक सहभागिता रहेको थियो। अभियानलाई थप सशक्त बनाउँदै आगामी दिनमा पनि विभिन्न वडामा जनसम्पर्क कार्यक्रमलाई निरन्तरता दिने पार्टीले जनाएको छ।



