वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण पर्साले नेपाल–भारत सीमास्तम्भ मर्मत तथा रंगरोगन कार्य बिहीबारदेखि सुरु गरेको छ।
गणले वीरगन्ज महानगरपालिका– २ को इनर्वा र भारततर्फ पूर्वी सुन्दरपुर– ४ मा रहेको सानो सीमास्तम्भ नम्बर ३९१/४ बाट मर्मत र रंगरोगन कार्य सुरु गरेको हो।
एक कार्यक्रमबीच गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक किशन कर्माचार्यले सीमास्तम्भ मर्मत तथा रंगरोगन कार्य सुरु गरेको जानकारी दिए।उनले यो कार्यक्रमअन्तर्गत सीमाको सुरक्षा मात्र नभएर सीमा अपराध नियन्त्रण गर्नका साथै दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउन पनि योगदान पुर्याउने बताए।
कर्माचार्यका अनुसार सन् २०१४ पश्चात् मर्मत तथा निर्माण भएका सीमास्तम्भहरूमध्ये जोर नम्बरका स्तम्भहरू भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले गर्ने निर्णय भएको छ। यस्तै सशस्त्र प्रहरी बल नेपालले बिजोर नम्बरको सीमास्तम्भ मर्मत सम्भार गर्ने निर्णय भएको थियो।
सीमास्तम्भहरूको रंगरोगन तथा मर्मत कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका अधिकृत कृष्ण खड्का, वीरगन्ज– २ का वडाध्यक्ष महमद रियाज, वीरगन्ज– १६ का वडाध्यक्ष परशुराम चौरसिया, एसएसबी बटालियन पन्टोका रक्साेलबाट आनिन्द्र मनी र दीपक सबिताको उपस्थिति रहेको थियो। सभार : नयाँ पत्रिका



