पर्सा । पोखरिया क्षेत्रमा शान्तिसुरक्षा कायम गर्ने र अपराध नियन्त्रण गर्ने जिम्मेवारी पाएको इलाका प्रहरी कार्यालय पोखरियाको कार्यशैलीमाथि गम्भीर प्रश्न उठ्न थालेको छ। विद्यालयमा चोरीका घटना बढ्दै जानु र घरेलु मदिरा नियन्त्रण गर्न पुगेको प्रहरी टोलीकै अगाडि नियन्त्रणमा लिइएको मदिरा खोसिनुले प्रहरी प्रशासनको कार्यसम्पादनमाथि स्थानीयस्तरमा असन्तुष्टि बढाएको छ।
पकाहाँ मैनपुर गाउँपालिका–२ स्थित डेभलपमेन्ट अफ स्किल बोर्डिङ स्कुलमा अज्ञात व्यक्तिहरूले चोरी गरेका छन्। चोरहरूले विद्यालयबाट दुई थान प्रिन्टर, दुई थान पंखा, पानी तान्ने मोटर तथा सीसीटीभी क्यामेरालगायतका सामग्री चोरी गरेको बताइएको छ।
शैक्षिक संस्थासमेत सुरक्षित नरहेको अवस्थामा चोरीमा संलग्न व्यक्तिहरूको पहिचान गर्न र चोरी भएका सामग्री बरामद गर्न प्रहरीले के गरिरहेको छ भन्ने प्रश्न स्थानीयले उठाएका छन्।
यता, शनिबार पोखरिया बजारमा घरेलु मदिरा नियन्त्रणमा लिन पुगेको प्रहरी टोलीसमेत विवादमा परेको छ। विभिन्न पसलबाट नियन्त्रणमा लिइएको घरेलु मदिरा प्रहरीको गाडीमा राखेर लैजाने क्रममा स्थानीय तथा पसल सञ्चालकहरूले अवरोध गर्दै गाडीबाटै मदिरा उतारेको घटना सार्वजनिक भएको छ।
कानुन कार्यान्वयन गराउन खटिएको प्रहरी टोलीकै अगाडि नियन्त्रणमा लिइएको सामग्री खोसिनु सामान्य घटना होइन। यस घटनाले प्रहरीको कार्यशैली, सुरक्षा व्यवस्थापन र नियन्त्रण अभियानको प्रभावकारिताबारे गम्भीर प्रश्न उठाएको छ।
स्थानीयवासीले घरेलु मदिरा नियन्त्रणको विरोधभन्दा पनि उत्पादनस्थलमै पुगेर उत्पादन रोक्नुपर्ने माग गरेका छन्। उत्पादन गर्ने ठाउँमा कारबाही नगरी बिक्रीका लागि राखिएको पसलबाट मात्रै मदिरा नियन्त्रणमा लिन खोजिएको भन्दै उनीहरूले असन्तुष्टि जनाएका थिए।
इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक भानुभक्त अर्यालले घरेलु मदिरा नियन्त्रण अभियान निरन्तर जारी रहने बताएका छन्।
तर, विद्यालयमा भएको चोरीको अनुसन्धान कहाँ पुग्योरु चोरीका सामग्री कहिले बरामद हुन्छन्रु प्रहरीकै गाडीबाट मदिरा खोसिएको घटनामा के कारबाही भयोरु यी प्रश्नको जवाफ प्रहरी प्रशासनले दिन आवश्यक छ।


