वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१४ मा सडकमा अव्यवस्थित रूपमा पार्किङ गरिएका ट्रक तथा ट्रेलर र रातिको अँध्यारोका कारण दुर्घटनाको जोखिम बढेको छ। तीन दिनको अवधिमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जना घाइते भएका छन्।
कार्तिक ११ गते राति करिब १०ः३० बजे परवानीपुर गाउँपालिका–३ निवासी सुमित साह मोटरसाइकल दुर्घटनामा परी घाइते भए। मामा घरबाट आफ्नो घरतर्फ जाँदै गरेका साहले सडकमा अचानक आएको छाडा कुकुरलाई बचाउन खोज्दा पार्किङ गरिएको ना।५ ख ५६३१ नम्बरको ट्रकमा मोटरसाइकल ठोक्किएको बताइएको छ।
मधेस प्रदेश ०३–०३७ प ७३१० नम्बरको मोटरसाइकल दुर्घटनामा परेपछि घाइते साहलाई उपचारका लागि वीरगञ्ज–१४ स्थित स्पर्श अस्पतालमा भर्ना गरिएको छ।
त्यस्तै, कार्तिक १३ गते वीरगञ्ज महानगरपालिका–१५ निवासी २४ वर्षीय शिवजी पटेल पनि दुर्घटनामा परी घाइते भए। अँध्यारो सडकमा पार्किङ गरिएको प्र।२–०३–००१ ख २७५४ नम्बरको ट्रकको ट्रेलरमा मोटरसाइकल ठोक्किँदा उनी घाइते भएको बताइएको छ। पटेलको वीरगञ्ज हेल्थ केयरमा उपचार भइरहेको छ।नारायणी सिँचाइ गण्डक चौकीका प्रहरी वरिष्ठ सई गोविन्द न्यौपानेले दुवै घटनाबारे जानकारी दिएका छन्।
© 2024


