वीरगञ्ज । पर्सा मदिरा व्यवसायी संघ ले मदिरा बिक्री तथा वितरण बन्द गर्ने निर्णय अन्य जिल्लाभन्दा करिब सात दिन अगाडि लागू गरिएको भन्दै गम्भीर आपत्ति जनाएको छ। संघले यस विषयमा जिल्ला प्रशासन कार्यालय पर्सा को ध्यानाकर्षण गराउँदै निर्णयलाई अन्यायपूर्ण, विभेदपूर्ण र व्यवसायीहरूलाई अन्योलमा पार्ने खालको भएको जनाएको छ।
संघका अनुसार हाल प्राप्त जानकारीअनुसार देशका धेरै जिल्लामा मदिरा बिक्री वितरण फागुन १८ गतेदेखि मात्र बन्द गर्ने निर्णय गरिएको छ। तर पर्सा जिल्ला मा भने फरक र अगावैको मिति तोकिएपछि व्यवसायीहरू समस्यामा परेका छन्। एउटै देशभित्र एउटै प्रकृतिको व्यवसायमा फरक–फरक नियम लागू हुनु उपयुक्त नहुने संघको भनाइ छ।
मदिरा व्यवसाय हजारौं परिवारको जीविकोपार्जनको मुख्य आधार भएको उल्लेख गर्दै संघले व्यवसायीहरूले नियमित रूपमा राज्यलाई कर तिर्दै आएको र राज्य सञ्चालनमा योगदान पुर्याउँदै आएको जनाएको छ। तर बिना स्पष्ट कारण र समान मापदण्ड लागू नगरी यस्तो निर्णय गरिँदा व्यवसायीहरू गम्भीर आर्थिक संकटमा पर्ने अवस्था सिर्जना भएको संघको ठहर छ।
विशेषगरी अहिले धेरै व्यवसायीहरूले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको, गोदाम र पसलमा ठूलो परिमाणमा मालसामान मौज्दात रहेको, भाडा, कर्मचारी तलब, ब्याज तथा अन्य नियमित खर्च निरन्तर तिर्नुपर्ने अवस्थाबीच अचानक बिक्री बन्द गरिनु व्यवसायीहरूका लागि अत्यन्त चुनौतीपूर्ण भएको संघले जनाएको छ।
संघले पर्सा जिल्लामा मात्र फरक मिति तोकिएको निर्णयको कानुनी आधार, कारण र प्रक्रिया के हो भन्ने विषयमा सम्बन्धित निकायले तत्काल स्पष्ट पार्न माग गरेको छ। साथै देशभर समान रूपमा लागू हुने एकरूप मिति र मापदण्ड कायम गर्न गम्भीर पुनर्विचार गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।
अन्यथा, यस निर्णयका कारण व्यवसायीहरूलाई हुने आर्थिक क्षति, समस्या तथा असहज परिस्थितिको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने अवस्था आउनेतर्फ संघले सम्बन्धित सबै पक्षको गम्भीर ध्यानाकर्षण गराएको



