वीरगन्ज । नेपाल र भारतका सुरक्षा अधिकारीहरूको शनिबार वीरगन्जमा सम्पन्न सीमा समन्वय समितिको बैठकले प्रतिनिधिसभा निर्वाचनभन्दा ७२ घण्टा अघिदेखि भारतसँगको सीमा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ।
वीरगन्जस्थित एकीकृत सुरक्षा जाँचचौकीमा सम्पन्न दुईदेशीय बैठकले निर्वाचनको समयमा हुन सक्ने क्रस–बोर्डर अपराधको सम्भावना न्यूनीकरण गर्न आवश्यक सतर्कता अपनाउने सहमति गरेको हो। बैठकमा सीमावर्ती क्षेत्रमा मदिराको खरिद–बिक्री तथा सेवन, साथै नक्कली नोटको कारोबार रोक्न निगरानी थप कडा बनाउने निर्णय पनि गरिएको छ।
बैठकमा भारतीय पक्षले पहिलो पटक वीरगन्ज हुँदै भारतको रक्सौल प्रवेश गर्ने सिर्सिया नदी मा भइरहेको जलप्रदूषणप्रति चिन्ता व्यक्त गर्दै नेपाल हुँदै भारततर्फ जाने पानी वाटर ट्रिटमेन्ट प्लान्टमार्फत प्रशोधन गरेर मात्र पठाउन नेपाली पक्षसँग आग्रह गरेको छ। यसअघिका यस्ता बैठकहरूमा भारतीय पक्षले यस विषयमा औपचारिक रूपमा कुरा उठाएको थिएन।
त्यसैगरी, नेपाल–भारत सीमामा देखिएको अतिक्रमण हटाउन सहयोग गर्न पनि भारतीय पक्षले नेपाली पक्षसँग आग्रह गरेको जनाइएको छ।
बैठकमा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, भारत बिहार पूर्वी चम्पारण जिल्लाका जिल्ला मजिस्ट्रेट सौरभ जोरवाल तथा पश्चिम चम्पारणका जिल्ला मजिस्ट्रेट धर्मेन्द्र कुमार को नेतृत्वमा दुवै देशका मातहतका सुरक्षा अधिकारीहरूको सहभागिता रहेको थियो।
नेपालतर्फबाट नेपाली सेनाबाहेक सबै सुरक्षा निकायका अधिकारीहरू बैठकमा सहभागी थिए। बैठकले सीमावर्ती क्षेत्रमा निर्वाचन सुरक्षा, अपराध नियन्त्रण र वातावरणीय सरोकारमा दुवै देशबीच समन्वय अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।



