वीरगञ्ज, फागुन ५ — राष्ट्रिय समाचार समिति (रासस) को ६५औँ वार्षिकोत्सवको अवसरमा मङ्गलबार वीरगञ्जमा “निर्वाचन आचारसंहितामा सञ्चार” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
रासस वीरगञ्ज कार्यालय, पर्साको आयोजनामा जिल्ला प्रशासन कार्यालय पर्साको सभाहलमा कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा निर्वाचन अवधिमा सञ्चार माध्यमको भूमिका, आचारसंहिताको पालना, निष्पक्ष र जिम्मेवार पत्रकारिताका विषयमा विस्तृत छलफल गरिएको थियो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहाल, सहायक प्रमुख जिल्ला अधिकारीद्वय विनोदकुमार पोखरेल र सुमनकुमार कार्की, नेपाली सेनाका प्रमुख सेनानी लोकेन्द्र काली, सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्री, विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, सुरक्षा निकायका अधिकारी, सञ्चारकर्मी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
वक्ताहरूले निर्वाचनलाई मर्यादित, निष्पक्ष र विश्वासयोग्य बनाउन सञ्चार माध्यमले आचारसंहिता पालनामा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए। सही सूचना प्रवाहले लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउने र आमनागरिकको विश्वास बढाउने धारणा व्यक्त गरिएको थियो।
कार्यक्रमको अन्त्यमा सहभागीहरूले निर्वाचन आचारसंहिता पालनासहित जिम्मेवार सञ्चार अभ्यासमा प्रतिबद्धता जनाएका थिए।



