वीरगञ्ज — आर्थिक अभावका कारण विवाहजस्तो पवित्र सामाजिक संस्कार रोकिनु नपर्ने सन्देशसहित वीरगञ्ज लेडिज सर्कल–३ को आयोजनामा मंगलबार सामूहिक विवाह कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको छ। ‘आओँ, एक घर बसाऔँ’ भन्ने मूल नारासहित वीरगञ्जस्थित जैन धर्मशालामा आयोजित कार्यक्रममा ११ जोडी नवदम्पती एकैसाथ वैवाहिक बन्धनमा बाँधिएका छन्।
कार्यक्रमको औपचारिक उद्घाटन नेपाल लेडिज सर्कलकी केन्द्रीय अध्यक्ष शिवानी अग्रवाल तथा वीरगञ्ज लेडिज सर्कल–३ की अध्यक्ष नन्दनी अग्रवालले संयुक्त रूपमा दीप प्रज्वलन गरी गरेका थिए। उद्घाटन समारोहमा बोल्दै आयोजकहरूले विपन्न वर्गका परिवारका छोराछोरीको विवाह आर्थिक अभावकै कारण रोकिनु सामाजिक अन्याय भएको उल्लेख गरे।
सोही सोचका साथ हिन्दु परम्पराअनुसार सम्पूर्ण वैवाहिक विधि पूरा गर्दै सामूहिक विवाह आयोजना गरिएको उनीहरूको भनाइ थियो।
लेडिज सर्कल–३ की अध्यक्ष नन्दनी अग्रवालले सामूहिक विवाह कार्यक्रमलाई केवल वैवाहिक समारोह मात्र नभई सामाजिक दायित्व र मानवीय उत्तरदायित्वको अभ्यासका रूपमा व्याख्या गरिन्।
उनले भनिन्, “हामीले सानो प्रयासमार्फत ११ नवदम्पती र उनीहरूको परिवारको अनुहारमा खुशी ल्याउन सकेका छौँ। यसले समाजमा आपसी सहयोग, एकता र भाइचाराको भावना बलियो बनाउने विश्वास लिएका छौँ।”
उनले नवदम्पतीलाई सफल, सुखी र समृद्ध दाम्पत्य जीवनको शुभकामना दिँदै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण हातहरूप्रति धन्यवाद व्यक्त गरिन्।
कार्यक्रममा वीरगञ्जका समाजसेवी, सामाजिक अभियन्ता, विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, लेडिज सर्कल नेपाल केन्द्रीय समितिका पदाधिकारी तथा वीरगञ्जका विभिन्न शाखाका सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो। नवदम्पतीका परिवारजन, इष्टमित्र र आफन्तहरूको बाक्लो सहभागिताले कार्यक्रमलाई अझ जीवन्त बनाएको थियो।
मंगलबार बिहान ११ बजे ११ दुल्हा जन्ती र बाजागाजासहित नाचगान गर्दै वीरगञ्ज नगर परिक्रमा गर्दै विवाहस्थल जैन धर्मशाला पुगेका थिए। विवाहस्थलमा बधुपक्षले परम्परागत द्वारपूजासहित दुल्हाहरूको स्वागत गरेपछि वरमाला, कन्या निरीक्षण, अग्नि फेरा लगायत सम्पूर्ण धार्मिक विधि सम्पन्न गरिएको थियो। सबै विधि सम्पन्न भएपछि नवदम्पतीलाई सामूहिक रूपमा विदाइ गरिएको थियो।
नवदम्पतीलाई गृहस्थ जीवन सुरु गर्न आवश्यक पर्ने सामग्रीहरू उपहारस्वरूप प्रदान गरिएको वीरगञ्ज लेडिज सर्कलकी निधि बन्का जटियाले जानकारी दिइन्। उनका अनुसार आभूषण, कपडा, ओछ्यान सामग्री, भान्साका सामग्री, विद्युतीय उपकरण तथा खाद्यान्नलगायत दैनिक जीवनमा आवश्यक पर्ने सामग्रीहरू प्रदान गरिएको थियो। यसमा बिछिया, औँठी, पायल, नथ, घडी, सुटकेस, साडी र कपडाका सेट, ओछ्यान, गद्दा, बेडसिट, भाँडाकुँडा, ग्यास चुल्हो, राइस कुकर, पंखा, हिटर, खाद्यान्न तथा अन्य सामग्री समावेश थिए।
कार्यक्रममा सहभागी समाजसेवी र अतिथिहरूले लेडिज सर्कलको यस प्रकारको सामाजिक कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको बताएका छन्।
उनीहरूले यस्ता कार्यक्रमले समाजमा आपसी सहयोग, समानता र मानवीय संवेदनशीलता बढाउने भन्दै लेडिज सर्कल परिवारको प्रशंसा गरे। सहभागीहरूले नवदम्पतीको सुखद र समृद्ध वैवाहिक जीवनको कामना गर्दै लेडिज सर्कलको उत्तरोत्तर प्रगतिको शुभेच्छा व्यक्त गरेका थिए।
सामूहिक विवाहजस्तो कार्यक्रममार्फत सामाजिक विभेद र आर्थिक असमानतामाथि सकारात्मक हस्तक्षेप गर्दै वीरगञ्ज लेडिज सर्कलले सामाजिक उत्तरदायित्वको सशक्त उदाहरण प्रस्तुत गरेको स्थानीयको भनाइ छ।



