पर्सा ।
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनाको अवधिमा भारत तथा तेस्रो मुलुकबाट साढे ७ अर्ब रुपैयाँभन्दा बढी मूल्य बराबरको दलहनजन्य खाद्यान्न नेपाल भित्रिएको छ। विशेषगरी वीरगन्ज नाकालाई मुख्य प्रवेश बिन्दु बनाउँदै दलहन आयात उल्लेख्य रूपमा बढेको देखिएको छ।
वीरगन्ज भन्सार कार्यालयका अनुसार साउनदेखि पुससम्मको छ महिनामा वीरगन्ज नाका हुँदै ७ अर्ब ६४ करोड रुपैयाँ मूल्य बराबरका सात प्रकारका दलहनजन्य खाद्यान्न आयात भएका छन्। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १ अर्ब ८० करोड रुपैयाँले बढी हो।
भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आर्थिक वर्षको पहिलो छ महिनामा दलहनजन्य खाद्यान्नको आयात गत वर्षको तुलनामा करिब ३१ प्रतिशतले वृद्धि भएको जानकारी दिए। गत आर्थिक वर्षको सोही अवधिमा ५ अर्ब ८३ करोड रुपैयाँ मूल्य बराबरका सात प्रकारका दलहन आयात भएका थिए।
भन्सार तथ्यांकअनुसार चालु आर्थिक वर्षको छ महिनामा सबैभन्दा बढी मुसुरो दाल आयात भएको छ। यस अवधिमा ३ अर्ब ८२ करोड रुपैयाँ बराबरको मुसुरो दाल भित्रिएको छ। त्यसैगरी १ अर्ब १७ करोड रुपैयाँ मूल्यको सिमी/राजमा, १ अर्ब १४ करोड रुपैयाँ मूल्यको चना आयात भएको छ।
यस्तै १ अर्ब रुपैयाँ मूल्य बराबरका अन्य गेडागुडी, २७ करोड रुपैयाँ मूल्यको रहरको दाल र १६ करोड रुपैयाँ मूल्यको केराउ आयात भएको भन्सार कार्यालयले जनाएको छ। साथै ५ करोड १० लाख रुपैयाँ मूल्य बराबरको बकुल्लाको दाल पनि सोही अवधिमा आयात भएको तथ्यांकमा उल्लेख छ।
दलहन आयातमा आएको यो वृद्धि स्वदेशी उत्पादन अपर्याप्त हुनु, बढ्दो उपभोग, बजार माग र मूल्य स्थिरता कायम गर्न आयातमा निर्भरता बढ्नुका कारण भएको सरोकारवालाहरूको विश्लेषण छ। खाद्य सुरक्षाका दृष्टिले दलहन महत्वपूर्ण खाद्यान्न रहेकाले यसको माग वर्षेनी बढ्दै गएको देखिन्छ।
आर्थिक विश्लेषकहरूका अनुसार दीर्घकालीन रूपमा आयात निर्भरता घटाउन दलहन उत्पादनमा आत्मनिर्भरता बढाउने नीति, किसानलाई प्रोत्साहन र आधुनिक कृषि प्रविधिको विस्तार आवश्यक रहेको छ।
© 2024



