बीरगंज। संयुक्त जन अधिकार आन्दोलन नेपाल, मिटर ब्याज संघर्ष समिति, तथा लघुवित तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालको संयुक्त आयोजनामा आइतबार बीरगंजको आदर्शनगरस्थित रानीसती धर्मशालामा संयुक्त भेला तथा एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि तथा लघुवित तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालका केन्द्रीय अध्यक्ष मनिराम ज्ञवालीले देशभर मिटर ब्याज र लघुवित संस्थामार्फत जनसाधारणमाथि भइरहेको आर्थिक शोषण असह्य अवस्थामा पुगेको बताउनुभयो।
उहाँले भन्नुभयो, “सरकारले वर्षौंदेखि मिटर ब्याज र लघुवित पीडितका समस्या समाधान गर्छौं भनेर घोषणा गर्दै आएको छ, तर वास्तविक पीडित अझै पीडामा छन्। अब हामी मौन बस्ने छैनौं — एकजुट भएर देशव्यापी आन्दोलनमा उत्रिनेछौं।”
ज्ञवालीले वित्तीय संस्थाहरूले गरीब जनतालाई ऋणको नाममा दोहन गरेको आरोप लगाउँदै कानूनी र सामाजिक दुवै तहमा दबाब सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो। साथै, उहाँले केन्द्रदेखि स्थानीय तहसम्म संगठन सुदृढ पार्ने घोषणा पनि गर्नुभयो।
कार्यक्रममा किसान मजदुर आन्दोलन नेपालका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहा, समिति नेपालका रामेश सेन्चुरी, तथा किसान मजदुर आन्दोलन नेपालका केन्द्रीय प्रवक्ता निर्ग नविन लगायतका विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षता संघका पर्सा जिल्ला अध्यक्ष शिव साह तेलीले गर्नुभएको थियो।
उक्त कार्यक्रममा पर्सा, बारा, रौतहट, सर्लाही र मकवानपुर जिल्लाबाट करिब ५ सयभन्दा बढी मिटर ब्याज पीडितहरू सहभागी भएका थिए। प्रशिक्षण सत्रमा सहभागीहरूलाई संगठन सुदृढीकरण, कानूनी सचेतना र आर्थिक अधिकार संरक्षणका उपायहरू सम्बन्धी जानकारी दिइएको थियो।



