वीरगंज। ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र, आदर्शनगरको आयोजनामा वीरगंज–६ स्थित शिवमन्दिर तथा आलखिया मठ परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आयोजित उक्त कार्यक्रममा मन्दिर परिसर सफा गर्दै वातावरण स्वच्छ र आकर्षक बनाइएको थियो। कार्यक्रममा वडा प्रहरी कार्यालय बिर्ताका वरिष्ठ सई सुरेन्द्र बहादुर टेरको नेतृत्वमा प्रहरी टोली, स्थानीय बासिन्दा, व्यवसायी, तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमको अध्यक्षता केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले गर्दै सरसफाइलाई जनस्वास्थ्य र सामाजिक चेतनासँग जोडिएको प्रयासको रूपमा अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरे।
ूसफा सुग्घर समाज, हाम्रो पहिचानू भन्ने नारासहित सामुदायिक प्रहरीका प्रतिनिधिहरूले स्थानीयलाई सरसफाइमा सहभागी हुन आग्रह गरेका थिए। सहभागी स्थानीयवासीहरूले यस्तो अभियानले अनुशासित र स्वच्छ समाज निर्माणमा टेवा पुर्याउने विश्वास व्यक्त गरेका छन्।
यस अवसरमा मठ परिसरमा जम्मा भएको प्लास्टिक तथा अन्य फोहोर संकलन गरी व्यवस्थित रूपमा व्यवस्थापन गरिएको थियो।



