वीरगञ्ज — यस वर्षको दशैँ पर्वको सार्वजनिक बिदामा पनि वीरगञ्ज भन्सार कार्यालयले निरन्तर सेवा दिने भएको छ।
सामान्यतया चाडपर्वका बेला बन्द हुने भन्सार कार्यालय यसपटक टीकाको दिनसमेत खुला रहने प्रमुख भन्सार प्रशासक विष्णु प्रसाद ज्ञवालीले जानकारी दिनुभयो।
उहाँका अनुसार यो निर्णय अर्थ मन्त्रालयको विशेष निर्देशनमा लिइएको हो। हालै देशभर फैलिएको “जेनजी आन्दोलन” पछि अर्थतन्त्रमा देखिएको प्रभावलाई न्यूनीकरण गर्न र आयात–निर्यात प्रक्रिया सहज बनाउन यो कदम चालिएको हो।
भन्सार प्रमुख ज्ञवालीले भने, “दशैंमा भन्सार बन्द हुँदा विदेशी खाद्य सामग्री, उपभोग्य वस्तु तथा दैनिक आवश्यक सामानहरू समयमा छुटाउन नपाएर क्षति हुने गरेको अनुभवलाई ध्यानमा राख्दै यो निर्णय गरिएको हो।”
यस निर्णयबाट विशेषगरी खाद्य व्यवसाय, उपभोग्य वस्तु आयातकर्ता र खुद्रा व्यापारीलाई राहत पुग्ने अपेक्षा गरिएको छ। साथै, चाडपर्वको समयमा बजारमा वस्तुको अभाव हुन नदिन र खाद्यान्न कुहिने जोखिम हटाउन पनि भन्सार सेवा खुला राखिएको हो।
अर्थ मन्त्रालयका अनुसार, भन्सार खुला हुँदा मालवस्तुको निकासी तथा पैठारी सहज हुनेछ र आम नागरिकलाई समेत आवश्यक सामग्री प्राप्तिमा सहजता हुनेछ।
अर्थ मन्त्रालयको विशेष निर्देशनले खाद्य व्यवसाय, उपभोग्य वस्तु आयातकर्ता र खुद्रा व्यापारीहरूलाई लाभ पुग्ने अपेक्षा गरिएको छ ।



