पर्सा — सशस्त्र प्रहरीले पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ठूलो मात्रामा नगदसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति सखुवापर्सौनी गाउँपालिका–५ निवासी ४३ वर्षीय राजेश कुमार साह तेली हुन्।
विशेष सूचनाका आधारमा खटिएको संयुक्त सुरक्षाको टोलीले वीरगञ्ज महानगरपालिका–१६, भन्सार मेनगेट क्षेत्रमा मंगलबार दिउँसो चेकजाँचको क्रममा उनलाई पक्राउ गरेको हो। बीआर ०५ बीएफ ०४६९ नम्बरको भारतीय मोटरसाइकलमा आएका साहको साथबाट जम्मा ८ लाख ७ हजार रुपैयाँ बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद रकम विवरण अनुसार
रु. १,००० दरका नोट – ५१५ थान
रु. ५०० दरका नोट – ५७२ थान
रु. १०० दरका नोट – ६० थान
संयुक्त अपरेशन सशस्त्र प्रहरी बल नेपाल नं। १३ गण हेडक्वार्टर पर्साका सशस्त्र प्रहरी सहायक निरीक्षक सुजय कुमार सिंह र सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म, वीरगञ्जका सहायक निरीक्षक मोहम्मद मुस्ताक अलीको नेतृत्वमा सञ्चालन गरिएको थियो। टोलीमा १० जना सुरक्षाकर्मी सहभागी थिए।
करीब रु। १ लाख ५० हजार मूल्यको मोटरसाइकलसहित पक्राउ परेका साहलाई थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता सुरज कार्कीले जानकारी दिएका छन्।



