बारा, असार १५ — परवानीपुर गाउँपालिकामा सार्वजनिक बजेटको दुरुपयोग भएको छ । असार १५ गते राष्ट्रिय धान दिवस मनाउने क्रममा बजेटको दुरुपयोग भएको हो ।
अखिल नेपाल किसान महासंघ बाराले परवानीपुर गाउँपालिका वडा नं १ बुनियाद (कट्टी टोल) मा आईतबार राष्ट्रिय धान दिवस मनाएको थियो । ‘ धानबालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ मनाइएको २२ औं राष्ट्रिय धान दिवसको कार्यक्रममा पालिकाको बजेट प्रयोग गरिएको खुलासा भएको छ ।

अखिल नेपाल किसान महासंघ, बारा— नेकपा एमाले पार्टीको भ्रातृ संगठन हो । किसान महासंघले आयोजना गरेको कार्यक्रममा पालिकाको बजेट प्रयोग गरिएको खुलेको छ । पालिकाको कृषि विकास शाखाले नै राष्ट्रिय धान दिवस मनाउन कार्यक्रम गर्न सक्छ । पालिकाले आयोजना नगरी बाहिरी संघ संस्थालाई दिने हो भने सार्वजनिक सूचना आव्हान गरेर संस्था छनौटको प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ ।
तर परवानीपुर गाउँपालिकाले त्यस्तो प्रक्रिया पुरा नगरी पार्टीको भातृ संगठनलाई सहयोग गरेको छ ।
कार्यक्रममा परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षेत्री पटेल तथा उपाध्यक्ष सुगान्धी देवी पनि सहभागी भएका थिए । कार्यक्रमको सफल आयोजनामा सहयोग पु¥याएको भन्दै उपाध्यक्ष सुगान्धी देवीको श्रीमान उमेश गुप्ताले सामाजिक सञ्जाल फेसबुकमा पालिका प्रति आभार प्रकट गरेका छन् । उनको यो पोष्टले एमालेको भातृ संगठनको कार्यक्रममा सरकारी बजेट खर्च गरिएको पुष्टि भएको छ ।
गाउँपालिकाको बजेट सामाजिक तथा सार्वजनिक हितका लागि हो, तर यसरी पार्टी निकट संगठनलाई बजेट दिएर राजनीतिक लाभ लिने प्रयास हुनु लोकतान्त्रिक मूल्य र सार्वजनिक वित्तीय अनुशासनविरुद्ध भएको जानकारहरु बताउँछन् । सार्वजनिक बजेट पार्टी निकट संगठनलाई किन दिइयो ? कार्यक्रम कस्तो प्रकृयाबाट अनुमोदित भयो ? लगायत प्रश्न सार्वजनिक वृत्तमा उठेको छ ।
पालिकाका अध्यक्ष रामक्षेत्री पटेललाई आफू स्वयं सहभागी भएको कार्यक्रममा पालिकाको बजेट के कति खर्च भएको जानकारी रहेनछ । उनीसँग किसान महासंघलाई दिएको बजेटका बारेमा कृषि शाखाका प्रमुख राम बहादुरसँग सोध्न आग्रह गरे ।
कृषि शाखाका राम बहादुरले भने त्यसको जानकारी प्रशासनसँग हुने बताए । ‘शाखाले नै अर्गनाइज गर्ने हो, कृषि शाखाबाट मनाइन्छ, कति सहयोग गर्नुभयो प्रशासनबाटै थाहा हुन्छ, हामीले समन्वय गरेर किसानहरु भेला गरेर मनाइदियौं । तर कत्तिको सहयोग पाउनुभयो उहाँहरुले माथिबाटै थाहा हुन्छ ।’ उनले भने ।



