काठमाडौँ —
खानेपानी मन्त्री प्रदीप यादवले आगामी साउन महिनाभित्रै वीरगञ्ज महानगरपालिका भित्र सञ्चालन हुने नयाँ खानेपानी आयोजनाहरूको टेण्डर आह्वान गरिने स्पष्ट पारेका छन्।

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आज आयोजित छलफल कार्यक्रममा बोल्दै मन्त्री यादवले वीरगञ्जमा एसियाली विकास बैंक (ADB) को ऋण सहयोगमा कुल १२ वटा खानेपानी आयोजनाहरू सञ्चालन हुने र पहिलो चरणमा कम्तिमा ६ वटा आयोजना तत्काल सुरु गरिने जानकारी दिए।
मन्त्री यादवले भने —
“ADB को ऋण सहयोगमा सञ्चालित आयोजनाका लागि आवश्यक प्राविधिक तथा वित्तीय छलफल गरी साउन महिनाभित्रै टेण्डर प्रक्रिया अघि बढाइनेछ।”
उहाँले वीरगञ्जवासीको जीवनस्तर सुधार गर्ने लक्ष्यसहित मन्त्रालय, स्थानीय निकाय तथा सरोकारवालाबीच समन्वय अझ सुदृढ बनाइने उल्लेख गरे।
आजको छलफलबाट वीरगञ्ज खानेपानी परियोजना अघि बढाउन प्राविधिक तथा वित्तीय तयारी थाल्ने सहमति पनि भएको मन्त्रालयले जनाएको छ।
छलफल कार्यक्रममा वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंह, खानेपानी मन्त्रालयका सचिव ई. प्रमिलादेवी शाक्य बज्राचार्य, सहसचिव ई. मीना श्रेष्ठ, ई. रमाकान्त दुवाडी, विभागका महानिर्देशक ई. रामकुमार श्रेष्ठ र संस्थानका महाप्रवन्धक अर्जुनबाबु ढकाल लगायतका अधिकारीहरूको उपस्थिति थियो।



