वीरगञ्ज — पर्सा जिल्लामा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ। यसै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो संगठनात्मक गतिविधि र जनसम्पर्क अभियानलाई आक्रामक रूपमा अघि बढाएको छ।
पर्सा–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा रास्वपा पर्सा सभापति हरि पन्त ले घरदैलो अभियानलाई व्यापक बनाउँदै संगठन विस्तार र सम्पर्क कार्यालय उद्घाटनलाई समानान्तर रूपमा अघि बढाएका छन्।
वीरगञ्ज महानगरपालिका अन्तर्गत हरपतगञ्ज क्षेत्रमा आयोजित घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता देखिएको थियो। टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेका पन्तले सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण र जनउत्तरदायी शासनलाई आफ्नो मुख्य चुनावी एजेन्डाका रूपमा प्रस्तुत गरे। उनले परम्परागत राजनीतिक अभ्यासप्रति जनतामा बढ्दै गएको निराशालाई सम्बोधन गर्दै “राजनीति सेवा हो, सत्ता र स्वार्थ होइन” भन्ने सन्देश दोहोर्याए।
घरदैलो कार्यक्रममा सहभागी समर्थकहरूले घण्टी बजाउँदै “जय घण्टी”, “अबकी बार, वैकल्पिक सरकार” जस्ता नाराहरू लगाएर माहोल उत्साहपूर्ण बनाएका थिए। स्थानीय मतदाताहरूले रोजगारीको अभाव, कृषि उत्पादनको उचित बजार नपाइनु, सडक तथा पूर्वाधारको दयनीय अवस्था, शिक्षा र स्वास्थ्य सेवामा देखिएका समस्या तथा समग्र आर्थिक–राजनीतिक अस्थिरताबारे प्रश्न उठाएका थिए। जवाफमा पन्तले योजनाबद्ध, परिणाममुखी र दीर्घकालीन विकासमार्फत यी समस्याहरूको समाधान गर्ने प्रतिबद्धता जनाए।
उनले केन्द्र सरकारसँग प्रभावकारी समन्वय र दबाब सिर्जना गर्न वैकल्पिक राजनीतिक शक्तिलाई बलियो बनाउनुपर्ने आवश्यकता औंल्याउँदै रास्वपालाई जिताउन मतदातासँग आग्रह गरे।
यसैबीच, पन्तले इनरुवामा रास्वपाको सम्पर्क कार्यालय उद्घाटन गरेका छन्। कार्यालय उद्घाटन समारोहमा उनले इनरुवावासीबाट प्राप्त माया, विश्वास र समर्थनप्रति आभार व्यक्त गर्दै “यहाँको विश्वासलाई म सधैं सम्मान गर्नेछु र जनताको आवाज संसदसम्म पुर्याउन इमान्दारितापूर्वक लाग्नेछु” भन्ने प्रतिबद्धता व्यक्त गरे।
उनले सम्पर्क कार्यालयलाई केवल पार्टी गतिविधिको केन्द्र मात्र नभई स्थानीय समस्याको समाधान खोज्ने साझा मञ्चका रूपमा विकास गरिने बताए।
उक्त कार्यक्रम विजय साहको सभापतित्वमा सम्पन्न भएको थियो भने सहजीकरण सन्तोष पटेलले गरेका थिए। कार्यक्रममा महानगर सभापति अमन आलम, जिल्ला सचिव सुदिश प्रजापती, दिलिप कुर्मी, मुकेध पटेललगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। पार्टी कार्यालय उद्घाटनमा सम्साद आलम, तबरेज अहमद र सन्नी कुमार गुप्ताले विशेष अग्रसरता लिएका थिए।
निर्वाचन मिति नजिकिँदै जाँदा पर्सा जिल्लामा विभिन्न दलका उम्मेदवारहरू घरदैलो, सभा–सम्मेलन, पार्टी प्रवेश र संगठन विस्तारमार्फत मतदाता आकर्षित गर्न सक्रिय देखिएका छन्।



