वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा नेकपा एमालेले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जनसम्पर्क अभियानलाई तीव्रताका साथ अगाडि बढाएको छ।
यस अभियानअन्तर्गत एमालेका उम्मेदवार रुपेश कुमार पाण्डेय पार्टीका नेता तथा कार्यकर्तासँगै गाउँ–गाउँमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्।
एमाले उम्मेदवार पाण्डेयले बिहीबार पकहाँ मैनपुर गाउँपालिका वडा नम्बर ३ र ४ अन्तर्गतका विभिन्न गाउँ तथा टोलमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्। उनले पकहाँ, श्यामपुर, बेलाहा, खेस्राहा, धोबिया टोल, छोटका लहावर थकरी लगायतका स्थानमा पुगेर स्थानीय मतदातासँग भेटघाट गर्दै उनीहरूका समस्या, अपेक्षा र आवश्यकताबारे ध्यानपूर्वक सुनेका थिए।
जनसंवादका क्रममा उम्मेदवार पाण्डेयले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी तथा आधारभूत पूर्वाधार विकासलाई आफ्नो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले पर्सा क्षेत्र नम्बर–३ को समग्र विकासका लागि जनताको बीचमै रहेर जनसेवकको भूमिकामा काम गर्ने वाचा मतदातासमक्ष राखेका छन्।
पाण्डेयले जनताको विश्वास र सहभागिताले नै विकास सम्भव हुने उल्लेख गर्दै निर्वाचनपछि पनि निरन्तर जनतासँग सम्पर्कमा रही समस्या समाधानमा लाग्ने बताए। स्थानीयवासीले पनि घरदैलो कार्यक्रमका क्रममा आफ्ना गुनासा र सुझावहरू खुला रूपमा राख्दै सकारात्मक प्रतिक्रिया जनाएका थिए।
घरदैलो कार्यक्रममा एमालेका नेता तेजप्रकाश निषाद, धामु शर्मा, अकलेश साह, पूर्व गाउँपालिका अध्यक्ष विजय चौरसिया लगायतका अगुवा नेताहरूको उपस्थिति रहेको थियो। साथै स्थानीय युवाहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो।
एमालेले पर्सा–३ मा घरदैलो तथा जनसंवाद कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै चुनावी अभियानलाई निरन्तर अघि बढाउने जनाएको छ।



