वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर–२७ उदयपुरघुर्मीमा आज बिहीबार पर्सा निर्वाचन क्षेत्र नम्बर–२ का नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार अजय चौरसियाले भेटघाट तथा छलफल कार्यक्रमलाई निरन्तरता दिएका छन्। स्थानीय जनप्रतिनिधि, पार्टी कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय उपस्थितिमा सम्पन्न कार्यक्रममा कांग्रेसको ऐतिहासिक योगदान, लोकतन्त्रको रक्षा र आगामी दिनको राजनीतिक जिम्मेवारीबारे गहन छलफल भएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता चौरसियाले विसं २००७ सालभन्दा पहिलेदेखि जहानियाँ राणाशासनविरुद्ध संघर्ष गर्दै जनताको अधिकार, विकास र प्रजातन्त्र स्थापनामा नेपाली कांग्रेसले खेलेको ऐतिहासिक भूमिकाको स्मरण गराए। उनले प्रजातन्त्रको रक्षा, संविधानको संरक्षण र जनताको अधिकार सुनिश्चित गर्ने जिम्मेवारी अझै पनि कांग्रेसले मात्रै पूरा गर्न सक्ने दाबी गर्दै कांग्रेसलाई विजयी गराउन मतदातासँग आग्रह गरे।
“कति दल आए, कति गए, तर नेपाली कांग्रेस आज पनि जनताको हितका लागि उस्तै समर्पित छ,” चौरसियाले भने, “कांग्रेस सधैं जनताको पक्षमा उभिएको पार्टी हो, अब जनताको पालो आएको छ।”
नेता चौरसियाले कांग्रेस बलियो भए मात्र जनताको हक–अधिकार सुरक्षित हुने उल्लेख गर्दै पर्सा जिल्लाका चारै निर्वाचन क्षेत्रमा कांग्रेस उम्मेदवारलाई विजयी गराउन अपिल गरे। उनले नयाँ दलहरूबारे टिप्पणी गर्दै राजनीतिक दलको मूल्यांकन इतिहास, सिद्धान्त र जनताको पक्षमा गरेको संघर्षको आधारमा हुनुपर्ने धारणा राखे।
उदाहरण दिँदै उनले भने, “छोराछोरीको विवाह गर्दा पनि परिवार र समाज बुझेर निर्णय गरिन्छ भने देशको भविष्य तय गर्ने मतदानमा पनि इतिहास बोकेको, सिद्धान्त भएको र जनताको पक्षमा संघर्ष गरेको पार्टीलाई रोज्नुपर्छ।”
चौरसियाले ११ वर्षसम्म हत्याहिंसामा संलग्न माओवादीलाई शान्ति प्रक्रियामा ल्याई राजनीतिको मूलधारमा समावेश गर्ने तथा संविधान जारी गर्ने ऐतिहासिक काम कांग्रेस नेतृत्वकै सरकारले सम्पन्न गरेको स्मरण गराए। उनले मुलुकको समृद्धि, जनअधिकार र स्वतन्त्रता रक्षामा कांग्रेसको योगदानबारे नयाँ पुस्तालाई जानकारी गराउनु आजको आवश्यकता रहेको बताए।
कांग्रेस बुथ सभापति राजदेव यादवको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मधेस प्रदेशका कृषिमन्त्री श्याम पटेल, पूर्वमन्त्री ओमप्रकाश शर्मा, कांग्रेसका क्षेत्रीय सभापति महमद साहबुदिन, बहुदरमाई नगरपालिकाका पूर्वमेयर नितेन्द्र साह, पर्सागढी नगरपालिकाका पूर्वमेयर लोकनारायण यादव, साथै नेता प्रेमचन्द्र कुशवाहा, प्रमोद कुशवाहालगायतको उल्लेखनीय सहभागिता रहेको थियो।
© 2024



