पर्सा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का पर्सा क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मनोज चौधरीले चुनावी अभियानलाई तीव्र बनाउँदै वीरगन्ज महानगरपालिका–२५ सिरिसियामा भव्य युवा भेला सम्पन्न गरेका छन्।
युवाहरूको उल्लेखनीय सहभागितामा सम्पन्न भेलामा उम्मेदवार चौधरीले देश निर्माणमा युवाको भूमिका निर्णायक हुने उल्लेख गर्दै परिवर्तनका लागि संगठित रूपमा अघि बढ्न आह्वान गरेका थिए ।
युवा भेलासँगै क्षेत्र नम्बर–२ अन्तर्गत पर्ने पर्सागढी नगरपालिकाका वडा नम्बर ७ र ९ का टिकुलिया, एकटङ्गा तथा बडेरवा क्षेत्रमा घरदैलो कार्यक्रम पनि सम्पन्न गरिएको छ। घरदैलो अभियानका क्रममा उम्मेदवार चौधरीले जेष्ठ नागरिक, बुद्धिजीवी तथा सर्वसाधारण मतदाताको घरघरमै पुगेर भेटघाट गर्दै स्थानीय समस्याबारे प्रत्यक्ष छलफल गरेका थिए।
स्थानीयवासीसँगको संवादमा चौधरीले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, सडक तथा आधारभूत सेवासम्बन्धी समस्यालाई प्राथमिकतामा राख्दै ती विषयहरू संसदमा प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता जनाए। उनले जनताको आवाजलाई नीति निर्माण तहसम्म पुर्याउनु नै आफ्नो मुख्य उद्देश्य भएको स्पष्ट पारेका थिए ।
“जनताले भोगिरहेका वास्तविक समस्या संसदसम्म पुर्याएर कानुनी र नीतिगत समाधान खोज्नु मेरो प्रमुख जिम्मेवारी हुनेछ,” उम्मेदवार चौधरीले भने। उनले पछिल्लो समय देखिएका सामाजिक तथा आर्थिक समस्याबारे संसदमा सशक्त रूपमा आवाज उठाउने प्रतिवद्धता समेत व्यक्त गरेका थिए।
कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरू सुशील हजरा, दिपेन्द्र सिंह पटेल, सोम लामा, जीवन राम, टेकनारायण महतो, रामचन्द्र साह, रामाश्रय राम, बृजलाल पासवान, बिरेन्द्र यादवलगायत नेताहरूको उपस्थिति रहेको थियो।
वक्ताहरूले पर्सा क्षेत्र नम्बर–२ मा जनमुखी र परिवर्तनकारी नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै उम्मेदवार मनोज चौधरीलाई विजयी गराउन एकताबद्ध भएर लाग्न कार्यकर्ता तथा समर्थकहरूलाई आह्वान गरेका थिए।



