वीरगन्ज ।
पर्सा निर्वाचन क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेदवार तथा पूर्वमन्त्री अजयकुमार चौरसियाले अफवाह र प्रोपोगण्डा फैलाएर नेपाली कांग्रेसको ऐतिहासिक विरासत मेट्न नसकिने स्पष्ट बताएका छन्।
सोमबार वीरगन्जमा नेपाली कांग्रेसले पर्सा निर्वाचन क्षेत्र अन्तर्गत वीरगन्ज महानगरपालिकाका विभिन्न वडाहरूमा आयोजना गरेको वडास्तरीय भेलालाई सम्बोधन गर्दै चौरसियाले कांग्रेस कुनै नयाँ वा पुराना शक्ति भन्नेहरूद्वारा फैलाइने भ्रम र प्रोपोगण्डाबाट डराउने पार्टी नभएको बताए।
“यदि कसैले अफवाह र प्रोपोगण्डाका भरमा कांग्रेसको हैसियत समाप्त पार्ने सपना देखेको छ भने त्यो केवल उनीहरूको दिवास्वप्न मात्र हो,” उनले भने।
देश अहिले संकटको अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै चौरसियाले शान्ति, अमन–चयन पुनःस्थापना गर्न र विदेशी हस्तक्षेपबाट मुलुकलाई जोगाउन कांग्रेस नै एकमात्र भरोसायोग्य शक्ति भएको दाबी गरे। उनले फागुन २१ गते हुने निर्वाचनपछि देशमा कांग्रेसकै नेतृत्वमा सरकार बन्ने दाबी गर्दै कार्यकर्ता र जनतालाई ढुक्क हुन आग्रह गरे।
“कांग्रेस न त ठगहरूको पार्टी हो, न गुण्डाहरूको,” चौरसियाले भने, “जब–जब देश संकटमा पर्छ, तब–तब कांग्रेसका नेता–कार्यकर्ताहरू जनताको पक्षमा छातीमा गोली थाप्न सडकमा उत्रिएका छन्। यो कुरा इतिहासले पटक–पटक प्रमाणित गरिसकेको छ।”
जेनजी आन्दोलनको सन्दर्भ उठाउँदै उनले सामाजिक सञ्जालको पुनःबहाली र सुशासनको मागसहित सुरु भएको आन्दोलनमा घुसपैठ गराएर बदनाम गरिएको आरोप लगाए। “घुसपैठकै कारण कैयौं युवाहरूले ज्यान गुमाए,” उनले भने, “ती सहिदहरूप्रति म हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु।”
कांग्रेस वीरगन्ज महानगर सभापति मणिन्द्रलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त भेलालाई मधेस प्रदेशका कृषिमन्त्री श्याम पटेल, कांग्रेस केन्द्रीय सदस्य रामरूप कुर्मी, पर्सा सभापति जनार्दन सिंह क्षेत्री, उपसभापति रामनारायण कुर्मी, क्षेत्रीय सभापति महमद साहबुदिन, पूर्व प्रदेशसभा सदस्य राजेश्वर साह तेलीलगायत नेताहरूले पनि सम्बोधन गरेका थिए।
© 2024



