वीरगन्ज — पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा जनमत पार्टीका उम्मेदवार ओमप्रकाश सरार्फले नेपाली कांग्रेस, एमालेलगायत ठूला दलहरूविरुद्ध तीव्र राजनीतिक आक्रमण गर्नुभएको छ।
माघ १८ गते वीरगन्ज महानगरपालिका वडा नम्बर–१८ भवानीपुर, इनर्वा तथा वडा नम्बर–२२ जगरनाथपुरमा सम्पन्न भेटघाट, संवाद तथा घरदैलो कार्यक्रममा बोल्दै सरार्फले मधेस आन्दोलन र जेन्जी आन्दोलनका क्रममा निर्दोष युवाको रगत बगाउने दलहरूलाई अब मतपेटिकामार्फत कारबाही गर्ने समय आएको बताउनुभयो।
“युवाको बलिदानमाथि सत्ता टिकाउने राजनीति अब सह्य हुँदैन,” सरार्फले भन्नुभयो, “जेन्जी युवाको हत्या गर्ने दल र तिनका उम्मेदवारलाई जनताको अदालतमा उभ्याएर ब्यालेटमार्फत सजाय दिनुपर्छ।”
उहाँले ठूला दलहरूले मधेस र युवालाई केवल प्रयोगको माध्यम बनाएको आरोप लगाउँदै यसपटक ती दललाई बहिष्कार गर्दै स्पष्ट खबरदारी गर्न मतदातालाई आग्रह गर्नुभयो।
देश र मधेस दुवैको राजनीतिक, आर्थिक तथा सामाजिक निकासको स्पष्ट भिजन जनमत पार्टी र पार्टी अध्यक्ष डा। सीके राउतसँग मात्रै रहेको दाबी गर्दै सरार्फले पुरानो सत्ता संरचनाबाट वास्तविक परिवर्तन सम्भव नभएको जिकिर गर्नुभयो। “वास्तविक परिवर्तन चाहनेहरूले हर्न छापमा मतदान गर्नुपर्छ,” भन्दै उहाँले मतदातासमक्ष प्रत्यक्ष अपिल गर्नुभयो।
घरदैलो तथा संवाद कार्यक्रममा जनमत पार्टीका नेता रम्भा मिश्रा, भुपेन्द्र साह, डा। मनोज कुमार, सिए देवराज, महादेव शर्मा, निराजन कुशवाहा, सहनवाज राकी, अजित सिंह, मन्जय शर्मा, सुमित सिंह, नागेन्द्र सिंह, अन्जना गुप्ता, नजमा खातुन, अनिता रौनियारलगायतको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमका क्रममा स्थानीयवासीहरूले मधेसको अधिकार, युवाको भविष्य र पुराना दलप्रतिको निराशा खुला रूपमा व्यक्त गरेका थिए।



