वीरगन्ज । पर्सामा गोली प्रहार भएको तीन दिन बितिसक्दा पनि गोली प्रहार गर्ने व्यक्ति पक्राउ परेका छैनन् । जिल्लाको छिपहरमाई गाउँपालिका कार्यालयको अगाडि बिहीबार साढे ७ बजे राति गोली प्रहार हुँदा सोही गाउँपालिका वडा नम्बर ५ भिस्वा निवासी स्थानीय १७ वर्षीय गोलु आलम घाइते भएका थिए ।
पर्साका प्रहरी उपरीक्षक सुदीप राज पाठकका अनुसार गोली लागेर घाइते भएका युवालाई उपचारको लागि सदरमुकाम वीरगन्जको नारायणी अस्पतालमा उपचार भइरहेको छ । गोली लागेर घाइते भएका युवा खतरामुक्त रहेको प्रहरी उपरीक्षक पाठकले बताए ।
तर घटनामा संलग्नलाई अहिलेसम्म प्रहरीले पक्राउ गर्न गर्न नसक्दा स्थानीयबासी असुरक्षित महसुस गर्न थालेका छन । प्रहरी स्रोतका अनुसार गोलुलाई गोली प्रहार गर्ने युवक छिपहरमाई गाउँपालिका ३ झलमैया निवासी राजु साह तेली हुन् ।
अहिले उनी सहित उनका परिवार घटना हुने बितिकै भारतमा भागेकाले अहिलेसम्म प्रहरीले पक्राउ गर्न नसकेको प्रहरी स्रोत बताउँछ । गोली प्रहार गर्ने युवकले ब्यक्तिगत रिसबीका कारण अर्को युवकलाई गाउँपालिका कार्यालय नजिक बाट झलमैयाँ जाने बाटोमा हार्डबेयर पसल अगाडि गोली प्रहार गर्न आएको प्रहरी स्रोत बताउँछ ।
गोली प्रहार गर्ने राजु गाउँपालिका कार्यालय अगाडि पसल थापेका अर्को युवकलाई गोली प्रहार गर्ने योजना बनाएपनि घटना स्थलमा हेर्न गएका भिस्वाका गोलुलाई लागेको हो । स्रोतका अनुसार गोली लागेर घाइते भएका गोलु झगडा भएपछि हेर्न गएको बेला उनलाई गोली लागेको हो । गोलुलाई गोली प्रहार गर्ने ब्यक्तिको पहिचान भइसकेपनी प्रहरीले अहिलेसम्म पक्राउ गर्न नसकेको अवस्था छ ।
पर्साका प्रहरी नायब उपरीक्षक योग बहादुर बस्नेतका अनुसार गोलुलाई गोली प्रहार गर्ने वितिकै प्रत्यक्षदर्शी सहित तीन जना पक्राउ परेका छन । गोली प्रहार भएको केहि घन्टामा उनीहरूलाई नियन्त्रणमा राखेर अहिले अनुसन्धान भइरहेकोे बस्नेतले बताए । यसअघि गत भदौ २३ मा पनि वीरगन्ज महानगरपालिकामा गोली चल्दा एक किशोरी घाइते भएकी थिइन् । वीरगन्ज– १६ स्थित मुस्कान होटलमा गोली चल्दा होटेलमा काम गर्ने भारत बेतियाकी १८ वर्षीय निशा सहनी घाइते भएकी हुन् ।
पौने ४ बजेको समयमा भारतकै झारखण्डका २८ वर्षीय प्रदीप कुमार शर्माले गोली चलाएको पर्साका प्रहरी नायब उपरिक्षक किशोर लम्सालले जानकारी दिए । उनका अनुसार होटेलमा काम गर्ने सहनीमाथी शर्माले मादक पदार्थ सेवन गरेर गोली प्रहार गरेका थिए । गोली प्रहार भएको केहि घन्टामा शर्मालाई प्रहरीले पक्राउ गरेर हिरासतमा लिएको थियो । अहिले उनी प्रहरीको अनुसन्धानक लागि हिरासतमा रहेका छन । सभार नायँ पत्रिका



