वीरगञ्ज,१२चैत । वीरगञ्जको लोहारपट्टी रोडमा सञ्चालित चिकेन स्टेशन नामक रेस्टुराँलाई वहिष्कार (बायकट) गर्ने अभियान सुरु भएको छ ।
रेस्टुराँले आफ्नो आधिकारीक फेसबूक पेजबाट आपत्तीजनक पोस्ट सेयर गरेपछि वीरगञ्जमा रेस्टुराँलाई बायकट गर्ने अभियान सुरु भएको हो । वीरगञ्जमा स्थानीय युवाले सामाजिक सञ्जाल मार्फत चिकेन स्टेशनका सञ्चालकहरुमाथि कानूनी कारवाही गर्न र रेस्टुराँलाई बायकट गर्ने अपिल गरिरहेका छन् ।
चिकेन स्टेशन वीरगञ्जले इस्लाम धर्मावलम्बीको एक महिने पर्व रमदानको अवसरमा फेसबूक मार्फत ‘बीफ कबाब’ मा १० प्रतिशत छुटको विज्ञापन राखेको थियो । हिन्दू धर्ममा देवी मानिएको तथा नेपालको राष्ट्रिय जनावरसमेत रहेको गाईको मासु अर्थात बिफ विक्री भइरहेको रेस्टुराँले विज्ञापन राखेपछि युवाहरुले विरोधमा बायकट अभियान चलाएका हुन् ।
रेस्टुराँले आफ्नो फेसबूक पेजबाट उक्त विज्ञापन हटाएर भूलवस राखिन गएको भन्दै माफी पनि मागिसकेको छ । तर विज्ञापनको स्क्रिनसट राखेर सामाजिक सञ्जालमा युवाहरुले रेस्टुराँलाई बायकट गर्न र सञ्चालकहरुमाथि कानूनी कारवाही गर्न माग गरिरहेका छन् ।
एउटै किचेनमा कुखुराको मासु र त्यहीँ किचेनमा गाइको मासु?’ भन्दै सञ्चारकर्मी राजन रौनियारले प्रश्न गरेका छन्, ‘आज देखि चिकेन एस्टेसनलाई मैले बहिस्कार गरेँ । चिकेन स्टेशन त्यहि भाडालाई प्रयोग गरि अन्य कुन-कुन पकवान बनाइ हिन्दूहरुलाई खुवाउने होला?’
यता जिल्ला प्रहरी कार्यालयले रेस्टुराँमा छापामारी गरेर त्यहाँबाट विभिन्न खाद्या सामग्री जफत गरेको छ । बिफ कबाब विक्री भइरहेको जानकारी पाए लगतै पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कोमल विक्रम शाहले रेस्टुराँमा छापामारी गर्दै त्यहाँ रहेका खाद्या सामग्रीको जाँच गर्न आदेश दिएका थिए । एसपी शाहका अनुसार छापामारीका क्रममा रेस्टुराँमा विज्ञापनमा भनिएको जस्तो बिफ कबाब अर्थात गाईको मासु फेला परेन ।