पर्सा । आफ्नो क्षेत्रमा सफल व्यवसायी र विकासप्रेमी नेताको छवि दाबी गर्ने नेकपा एमालेबाट पर्सा क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रुपेश पाण्डे आफ्नै गृह गाउँमा पछि परेका छन्। लामो समयदेखि अधुरो रहेको हनुमान मन्दिरको पुनर्निर्माण कार्यमा उनी चुकेपछि स्थानीय राजनीतिमा यो विषय चर्चा र आलोचनाको विषय बनेको छ।
पर्साको पकाहामैनपुर गाउँपालिका–२ मानिकपुरस्थित हनुमान मन्दिरको पुनर्निर्माण कार्य बुधबार गाउँपालिका अध्यक्ष पदका प्रत्याशी कृष्णा पटेलले शिलान्यास गरेका छन्। तर, यो शिलान्यास उम्मेदवार रुपेश पाण्डेकै गृह गाउँमा भएको हो।
स्थानीयवासीहरूका अनुसार विगत लामो समयदेखि मन्दिरको जग निर्माण गरेर अलपत्र छाडिएको भए पनि आफ्नो गाउँका प्रभावशाली तथा विकासप्रेमी दाबी गर्ने नेता पाण्डेले यसप्रतिको जिम्मेवारी पूरा गर्न ध्यान दिएनन्।
छठ पर्वका दिन स्थानीयहरूले प्लास्टिकको छानोमुनि भगवान्को पूजा गर्नुपर्ने दयनीय अवस्था देखाउँदै मन्दिर निर्माणका लागि आग्रह गरे पनि पाण्डेले यसलाई बेवास्ता गरेको देखिन्छ। आफ्नो गाउँको धार्मिक तथा सांस्कृतिक धरोहर जीर्ण हुँदा र स्थानीयवासीले गुहार माग्दासमेत मौन बसेका पाण्डेलाई पछि पार्दै अन्य उम्मेदवारले व्यक्तिगत खर्चमा मन्दिर निर्माणको जिम्मा लिएर शिलान्यास गर्नुले पाण्डेको ‘विकासप्रेमी’ र ‘सहयोगी’ छविमा ठूलो प्रश्नचिह्न खडा गरेको छ।
आफ्नै गृह क्षेत्रका मतदाता र धार्मिक आस्थाको केन्द्रप्रति बेवास्ता गरेको भन्दै स्थानीय बासिन्दाहरूले उम्मेदवार पाण्डेको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। जनताको सानो समस्यामा समेत समयमै ध्यान नदिने र राजनीतिक लाभका लागि मात्र सक्रिय हुने प्रवृत्तिले गर्दा पाण्डेको राजनीतिक साखमाथि नै धक्का पुगेको विश्लेषण गर्न थालिएको छ।
आफ्नो घरआँगनको काममा समेत अर्को व्यक्तिले पहलकदमी लिनुले उम्मेदवार पाण्डेको कमजोर उपस्थित प्रष्ट पारेको छ।


