वीरगञ्ज,२९ माघ । वीरगञ्जको वडा नम्वर १४ पिपरामा रहेको पशुपतिनाथ मन्दिरमा भोली हुने महाआरतीमा सहभागि हुन भारतको काशी विश्वनाथका मूल पुजारी वीरगञ्ज आइपुग्नु भएको छ ।
वीरगञ्ज आइपुग्नु भएका काशी विश्वनाथका मूल पुजारी पण्डित डा.श्रीकान्त मिश्रलाई वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वीरगञ्जमा स्वागत गर्नुभएको छ ।
सडक मार्ग हुँदै वीरगञ्ज आइपुग्नु भएका मुख्य पुजारी मिश्रले पावन भूमी नेपालको वीरगञ्जमा आउन पाउँदा खुसी लागेको बताउनुभयो ।
वीरगञ्ज महानगरपालिका र विश्व हिन्दु परिषदको संयुक्त आयोजनामा वीरगञ्जमै पहिलो पटक पिपरा स्थित पशुपतिनाथ मन्दिरमा प्रवचन तथा महाआरती आयोजना गर्न लागेको हो ।
महाआरतीमा पशुपतिनाथ मन्दिर काठमाण्डौका भट्ट र जनकपुरधामका महन्थ समेत आउनु हुने छ । दुबै जना भोली विहानसम्म वीरगञ्ज आइपुग्नुहुने महानगरप्रमुख सिंहले जानकारी दिनुभयो ।
महाआरतीका लागि मन्दिर सिंगार्नुका साथै आवश्यक सम्पूर्ण तयारी सकिएको पनि महानगरले जनाएको छ ।
वीरगञ्जलाई धार्मीक पर्यटकीय गन्तव्यको केन्द्र बनाउने गरी वीरगञ्ज महानगरपालिकाले काम अघि बढाएको हो ।
तराईमै एक मात्र रहेको पशुपति नाथ मन्दिर सौन्दर्यकरण गरेर यसको पहिचान स्थापित गर्न पनि नेपाल भारत दुबै देशका प्रख्यात धामका मुख्य पुजारी बोलाएर महाआरती गर्न लागिएको हो ।