वीरगञ्ज, १९ माघ । जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको २० लाख रकमसहित १ जनालाई पक्राउ गरिएको छ ।
प्रहरी चौकी ईनर्वाबाट खटिएको चेकिङ् टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजनजयन्ती चोकस्थित सडकखण्डबाट स्रोत नखुलेको रकमसहित १ जनालाई पक्राउ गरिएको हो।
प्रदेश २–०३–०११ प ६३४३ नम्बरको मोटरसाइकल चालक बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ४ बस्ने २७ वर्षीय श्यामकिशोर साहलाई नियन्त्रणमा लिएको हो ।
शंकास्पद अवस्थामा आइरहेको अवस्थामा मोटरसाइकल रोकी चेकजाँच गर्दा १ हजार दरका १६ सय थान र ५ सय दरका ८ सय थान गरी नेपाली २० लाख रकम भेटिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।
भेटिएको रकमको स्रोत खुलाउन नसकेपछि मोटरसाइकलसहित साहलाई नियन्त्रणमा लिइएको बुढाथोकीले बताए । उनका अनुसार साहविरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजिमको कसूरमा आवश्यक अनुसन्धान भइरहेको छ ।