वीरगञ्ज, । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ब्याडमिन्टन प्रशिक्षक तथा टोली व्यवस्थापक छनोटमा मधेश प्रदेश खेलकुद परिषद्ले मनोमानी गरेको आरोप लागेको छ।
मधेश प्रदेश ब्याडमिन्टन संघले सिफारिस गरेका प्रशिक्षक तथा व्यवस्थापकको नाम परिवर्तन गरी परिषद्ले आफूखुसी नयाँ नाम राष्ट्रिय खेलकुद परिषद्मा पठाएपछि विवाद उत्पन्न भएको हो।
मधेश प्रदेश ब्याडमिन्टन संघले मिति २०८२ मंसिर १० गते प्रदेश खेलकुद परिषद्लाई पठाएको पत्रमा प्रशिक्षकका रूपमा लालबाबु राय र प्रेमबाबु महतो तथा टोली व्यवस्थापकमा बरुण दाहालको नाम सिफारिस गरेको थियो।

तर, मधेश प्रदेश खेलकुद परिषद्ले मिति २०८२ मंसिर २० गते राष्ट्रिय खेलकुद परिषद्लाई पठाएको पत्रमा प्रशिक्षकका रूपमा लालबाबु राय र बरुण दाहाल तथा टोली व्यवस्थापकमा मुकेश मण्डलको नाम उल्लेख गरेको छ।
संघको सिफारिसविपरीत प्रशिक्षक प्रेमबाबु महतोको नाम हटाएर बरुण दाहाललाई प्रशिक्षक बनाइएको तथा टोली व्यवस्थापकमा बरुण दाहालको सट्टा मुकेश मण्डलको नाम पठाइएको विषयले विवाद सिर्जना गरेको हो।

संघले प्रदेशस्तरीय छनोट प्रतियोगितामार्फत पुरुष तथा महिला खेलाडी र विभिन्न विधाका खेलाडी छनोट गरी प्रशिक्षक तथा व्यवस्थापकसहितको टोली सिफारिस गरेको थियो। उक्त टोलीलाई कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टन प्रतियोगितामा सहभागी गराउने तयारी गरिएको छ।
परिषद्को निर्णयप्रति असन्तुष्टि जनाउँदै प्रशिक्षक प्रेमबाबु महतोले खेलकुद क्षेत्रमा संस्थागत सिफारिस र प्रक्रियालाई बेवास्ता गर्दै नाम परिवर्तन गरिनु उचित नभएको बताउनुभएको छ। उहाँले यस विषयमा निष्पक्ष छानबिन हुनुपर्ने र निर्णय प्रक्रियामा पारदर्शिता कायम गरिनुपर्ने माग गर्नुभएको छ।
खेलाडी छनोटदेखि प्रशिक्षक तथा व्यवस्थापक नियुक्तिसम्मका प्रक्रियामा सम्बन्धित खेल संघको सिफारिस र संस्थागत निर्णयलाई कत्तिको आधार बनाइएको छ भन्ने प्रश्नसमेत यस घटनाले उठाएको छ।
यस विषयमा मधेश प्रदेश खेलकुद परिषद्का सदस्यसचिव शिवजीप्रसाद कानुले पछि जवाफ दिने बताउनुभएको छ। सभार विरगंज टि भि


