पर्सामा दुई भारतीय कामदारको निसास्सिएर मृत्यु
वीरगन्ज — पर्सामा निसास्सिएर दुई जना भारतीय कामदारको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका– २२ जगनाथपुरस्थित त्रिपती ट्रेडिङ एण्ड सप्लायर्सको कोइला डिपोमा कार्यरत दुई जना भारतीय कामदारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
मृत्यु हुनेमा भारत विहारको मोतीहारी जिल्ला रक्सौल थाना कौवाठेगर– ७ निवासी २९ वर्षीय पवित्र गिरी र भारत निवासी ३० वर्षीय मिथलेश यादव रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका नायव उपरीक्षक दिपक गिरीका अनुसार तगारीमा पत्थर कोइला बोलेर झ्यालढोका बन्द गरी कोठामा सुतेका दुबै जनाको अक्सिजनको कमी हुँदा निसास्सिएर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । उनका अनुसार कोइला डिपोको रेखदेख गर्ने दुबै जना सोही डिपोको एकतले पक्की भवनको अल्मुनियमको झ्यालढोका भएको कोठाभित्र झ्यालढोका बन्द गरी मंगलबार राति सुतेका थिए ।
बुधबार बिहान १० बजेसम्म ढोका खोली कोही पनि बाहिर ननिस्किएपछि डिपोका अन्य कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले ढोका फोडेर भित्र प्रवेश गर्दा दुबै जनाको मृत्यु भइसकेको थियो । प्रहरीले नारायणी अस्पतालबाट चिकित्सक लिई घटनास्थलमा अनुसन्धान अधिकृतको टोली पुगी शव जाँच प्रकृति मुचुल्का उठाएको थियो ।