वीरगञ्ज, २१ पौष । पर्साका प्रहरी उपरीक्षक कोमल विक्रम शाहसँग वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारी, कार्यसमिति सदस्यहरुले आज एक समारोहका बीच स्वागत तथा भेटघाट गरेका छन् । वीउवासंघले आफनै सभाकक्षमा आयोजना गरेको थियो।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले स्वागत मन्तव्यका क्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घको ऐतिहासिक पृष्ठभूमि र यस क्षेत्रको औद्योगिक, व्यापारिक महत्व तथा उपादेयका बारे प्रकाश पार्नु भएको थियो ।
डा. गुप्ताले खुल्ला बोर्डर हाम्रो लागि अवसर र चुनौती दुवै भएकोले शान्ति सुरक्षा, तस्करी नियन्त्रणमा प्रहरीले सघन भूमिका निर्वाह गर्नुपर्ने तर्फ ध्यानाकर्षण गराउनु भएको थियो । संघले आफ्नै सक्रियतामा सञ्चालन गरेको सिसिटिभी परियोजनाको व्यवस्थापन र विस्तारमा समेत सहकार्य गर्न प्रहरी उपरीक्षकलाई अवगत गराउँदै औद्योगिक सुरक्षा बलको पुनः स्थापनामा सबैको सहकार्य अपरिहार्य भएको बताउनुभयो ।
प्रहरी उपरीक्षक कोमल विक्रम शाहले अध्यक्षबाट व्यक्त भएका चासोलाई आफ्नो कार्यकालमा सक्रियतापूर्वक सम्पादन गर्ने तर्फ प्रयत्नशील रहने बताउनुभएको थियो । उहाँले अवैध व्यापारलाई निरुत्साहित तथा चोरी निकासी पैठारीलाई नियन्त्रण गर्ने प्रष्ट पार्नुभयो ।
सोही अवसरमा राष्ट्रिय अनुसन्धान कार्यालय, पर्साका उपनिर्देशक दीपक खड्काको बिदाई समेत गरिएको थियो । बिदाई समारोहमा उपनिर्देशक खड्काले वीरगञ्ज उद्योग वाणिज्य सङ्घले गरेको माया र सदभाव आफू कहिले पनि बिर्सन नहुने बताउनु भयो । उहाँले सामाजिक विकासको लागि वीउवासले निर्वाह गर्दै आएको भूमिका सराह्नीय रहेको बताउँदै आगामी दिनहरुमा समेत एक आपसबीचको सम्बन्ध अझै प्रगाढ हुने धारणा राख्नुभयो ।
कार्यक्रममा वीउवासङ्घका निवर्तमान अध्यक्ष गोपाल केडिया, पूर्व अध्यक्षद्वय अशोक कुमार टेमानी र अशोक कुमार वैध, वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल, महासचिव मनोजकुमार दास, सचिव आशीष लाठ, सह–कोषाध्यक्ष प्रेमचन्द्र गोयल, सह–सचिव अनोज रुँगटा लगायत कार्य समिति सदस्यहरुको उपस्थिति रहेको थियो ।