जोतिलाल पंडित
वीरगंज २२ मंसिर । वीरगञ्जको लोहारपट्टीबाट प्रहरीले ६१ लाखभन्दा बढी मूल्यको सामानसहित ट्रक नियन्त्रणमा लिएको छ ।
वडा प्रहरी कार्यालय विर्ताको टोलीले जाँच गर्दा बिलबिजक भन्दा बढिको सामान भेटिएपछि नियन्त्रणमा लिएको हो ।
सर्टिङ सुर्टिङका लत्ता कपडा, खुद्रा सामान तथा औषधी लगायतका सामानहरू बोकेको ट्रक वीरगञ्जबाट कास्कीतर्फ जान लागेको थियो ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ लोहारपट्टी चोक स्थित सडकखण्डबाट ना। ३ ख २७७ नम्बरको मालवाहक ट्रक शंका लागि जाँच गर्दा बिलबिजक भन्दा बढिको सामान भेटिएपछि नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक बिशाल मल्लले जानकारी दिए ।
उनका अनुसार नमस्ते ट्रान्सपोर्टबाट सामान लोड गरेर कास्कीतर्फ जानलागेको थियो । ट्रकमा ६१ लाख ४६ हजार १२ रुपैया बराबरको खुद्रा, लत्ताकपडा तथा औषधीजन्य सामाग्रीहरू फेला परेको पनि उनले जानकारी दिए ।
सामानसहित बरामद भएको ट्रकलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले जानकारी दिए ।