वीरगन्ज — प्रतिनिधिसभाको बैठकमा सांसद रहबर अन्सारीले नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगन्जका सम्बन्धमा व्यक्त गरेको आरोपप्रति कलेज प्रशासनले आपत्ति जनाएको छ।
कलेज प्रशासनले विज्ञप्ति जारी गर्दै आरोपबारे हालसम्म कुनै सम्बन्धित नियामक वा सरकारी निकायबाट आधिकारिक निष्कर्ष नआएको दाबी गरेको छ। आरोपका सम्बन्धमा निष्पक्ष र पारदर्शी छानबिनका लागि कलेज तयार रहेको तथा सम्बन्धित निकायलाई आवश्यक अभिलेख र विवरण उपलब्ध गराउने प्रतिबद्धता पनि जनाएको छ।
कलेजका अनुसार नेशनल मेडिकल कलेज करिब २५ वर्षदेखि त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। कलेज चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान ९आईओएम०, नेपाल मेडिकल काउन्सिल तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायतका निकायको अनुगमन तथा नियमनअन्तर्गत सञ्चालन हुँदै आएको विज्ञप्तिमा उल्लेख छ।
चिकित्सा शिक्षा र स्वास्थ्य सेवाजस्तो संवेदनशील क्षेत्रमा सार्वजनिक रूपमा उठाइने विषय प्रमाणित तथ्य, दस्तावेज तथा अधिकारप्राप्त निकायको आधिकारिक परीक्षणमा आधारित हुनुपर्ने कलेजको भनाइ छ। प्रमाणित नभएका आरोपले चिकित्सक, कर्मचारी, बिरामी तथा सेवाग्राहीमा भ्रम र अविश्वास सिर्जना गर्न सक्ने कलेजले जनाएको छ।
कलेजले आफ्नो संस्थागत इतिहासमा चिकित्सा शिक्षाको गुणस्तर, स्वास्थ्य सेवा, विद्यार्थीको शैक्षिक हित तथा नियामकीय मापदण्डको पालनालाई प्राथमिकता दिँदै आएको पनि जनाएको छ।
कलेज प्रशासन प्रमुख विष्णनाथ कण्ठद्वारा जारी विज्ञप्तिमा सम्बन्धित निकायबाट हुने आवश्यक परीक्षण तथा छानबिनमा कलेजले सहयोग गर्ने उल्लेख छ।


