वीरगन्ज — वीरगन्जमा चैत्र २८ गते शनिबार भव्य रूपमा ‘श्री जगन्नाथ रथ यात्रा’ सम्पन्न भएको छ। नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) को आयोजनामा निकालिएको रथ यात्रामा हजारौँ श्रद्धालुहरूको सहभागिता रहेको थियो।
शनिबार दिउँसो १ बजे गहवामाई पार्कबाट सुरु भएको रथ यात्रा मकालु होटल, पूजन होटल, कैलाश होटल, घडीअर्वा पोखरी र गीता मन्दिर रोड हुँदै पुनः माइस्थान पार्कमा पुगेर समापन गरिएको थियो। यात्राभर भजन–कीर्तन, नृत्य र धार्मिक उत्साहले वातावरण भक्तिमय बनेको थियो।

रथ निर्माण, सजावट तथा प्रसाद व्यवस्थापनका लागि करिब ५ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ।
यस वर्षको रथ यात्रामा पर्सा, बारा र रौतहट जिल्लाका साथै सीमावर्ती भारतीय सहर रक्सौल बाट समेत श्रद्धालु तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई व्यवस्थित र शान्तिपूर्ण बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल ले विशेष सुरक्षा व्यवस्था मिलाएको थियो।



