पर्सा – ‘सेवा नै धर्म हो’ भन्ने मूल नारासहित नारायणी अस्पताल, वीरगञ्ज मा सञ्चालित निशुल्क भोजन शिविर आज ५३ औं सातामा प्रवेश गर्दै सफलता साथ सम्पन्न भएको छ।
वीरगञ्ज समाज सेवा परिवारको आयोजनामा सन्चालित यस भोजन शिविरले अस्पतालमा भर्ना भएका गरिब तथा विपन्न वर्गका बिरामी र कुरुवाहरूलाई लक्षित गरी प्रत्येक हप्ताको शनिबार निशुल्क भोजन वितरण गर्दै आएको छ।

यस शिविरको उद्देश्य आर्थिक अभावका कारण उचित खाना नपाउने बिरामी तथा तिनका कुरुवाहरूलाई सहयोग पुर्याउनु रहेको आयोजकले जनाएका छन्। सेवा भावना तथा मानवता प्रेरित अभियानको रूपमा यो शिविरले निरन्तरता पाउँदै आएको छ।
वीरगञ्ज समाज सेवा परिवारले आगामी दिनहरूमा पनि यस सेवाको दायरा अझै विस्तार गर्ने योजना बनाएको छ। स्थानीय समाजसेवीहरू, स्वयंसेवक र अस्पताल प्रशासनको सहयोगमा कार्यक्रम सफल रूपमा सञ्चालन हुँदै आएको छ।
नारायणी अस्पताल परिसरमा प्रत्येक शनिबार देखिने यो सेवा अभियानले ‘सेवा नै धर्म हो’ भन्ने भावनालाई व्यवहारमा उतार्ने उदाहरण प्रस्तुत गरेको छ ।



