वीरगञ्ज । वीरगञ्जको गण्डक चोकबाट मङ्गलबार मानवसेवा आश्रमले उद्धार गरेको युवकको निधन भएको छ ।
गण्डक चोक नजिकैको फोहर फाल्ने ढलमा अचेत लडिरहेको अवस्थामा उद्धार गरिएका बुधबार उपचारका लागि चिकित्सक कहाँ लग्ने क्रममा निधन भएको बुझिएको छ ।
स्थानीयले मङ्गलबार दिउँसो युवालाई देखेपछि मानवसेवा आश्रमलाई जानकारी गराएपछि उनको उद्धार गरिएको थियो । त्यसपछि उनलाई वीरगञ्ज – २५ स्थित मानवसेवा आश्रममा ल्याएर राखिएको थियो ।
यद्यपि उनले आश्रममा रहेका व्यक्तिमाथि नै हातपात गर्ने गरेपछि आज अपराहन्न ३ बजे तिर उपचारका लागि मनोरोग विशेषज्ञ डा. भरतकुमार गोइत कहाँ लगिँदै थियो ।
उपचारका लागि लग्ने क्रममा उनको विच बाटोमै निधन भएको आश्रमका मधेश प्रदेश संयोजक देवेश गुप्ताले जानकारी दिए । ‘हामीले उनलाई बचाउन आफ्नो सकभर प्रयास गर्यौं तर सकेनौं,’ गुप्ताले भने ।
युवकको शव हाल वीरगञ्जस्थित नारायणी अस्पतालमा पोष्ट मार्टमका लागि राखिएको छ ।