वीरगञ्ज । वीरगञ्जको गण्डक हस्पिटल छेउको नालीमा एक युवक नग्न अवस्थामा थिए । फोहोर र ढल बग्ने नालीमा नग्न अवस्थामा युवक रहेको खबर स्थानीयले पुर्याएपछि मानव सेवा आश्रमको टोली उद्धारका लागि पुग्यो । मानव सेवा आश्रम वीरगञ्जका कार्यालय सचिव दिपेश तामाङ् नेतृत्वको टोलीले नालीबाट निकालेर आश्रमसम्म पुर्यायो ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ सिर्सियास्थित आश्रममा लगेर सरसफाई गरेपछि ति अपरिचित युवकको अवस्था फेरिएको छ । मानसिक सन्तुलन ठीक नभएको अवस्था उद्धार गरिएका ति युवक अन्दाजी २०/२१ वर्षका हुन सक्ने अनुमान गरिएको छ । उद्धार गरेर ल्याउने बित्तिकै आश्रमकै स्वयमसेविकालाई झापड हान्नेदेखि लिएर गमला फुटाउनेसम्मका क्रियाकलाप गरेको हुँदा उनलाई अहिले नियन्त्रणमा राखिएको छ ।
आश्रमकै मेडिकल टोलीले चेकजाँच गर्दा केही नदेखिएको हुँदा मानसिक रोग विशेषज्ञकहाँ लैजाने तयारी भइरहेको मानव सेवा आश्रम वीरगञ्जकी संयोजक सानुमाया गुरुङ्ले जानकारी दिइन् । उनकाअनुसार ति युवकले खाना समेत खान मानेका छैनन् ।
मंगलवार दिउँसो २ बजेतिर उद्धार गरेर ल्याइएका ति युवकको शरिरमा निलडाम एवम् चोटपटक पनि देखिएको हुँदा कसैले कुटपिट गरेर नालीमा फालेको हुन सक्ने आशंका गरिएको छ ।