वीरगञ्ज । जथाभावी कचारा फ्याल्दै शहरलाई दुर्गन्धित र फोहोर बनाउनेमाथि वीरगञ्ज महानगरपालिकाले सार्वजनिक अपराध कसूरसम्बन्धी मुद्दा चलाउने तयारी गरेको छ ।
महानगरका सडक, पेटी, नाला तथा गल्लीमा जथाभाबी फोहोर फाल्नेसँग जरिवाना असुल्नुका साथै महानगरले अब सार्वजनिक अपराध कसूरसम्बन्धि मुद्दा चलाउने तयार गरेको हो ।
वीरगञ्ज महानगरपालिकाको सरसफाइ महाशाखाका प्रमुख सरफुद्दीन मियाँकाअनुसार फोहर फाल्नेसँग जरिवाना असूल्दासमेत अपेक्षित सुधार नभएपछि सार्वजनिक कसूरसम्बन्धि मुद्दा चलाउने महानगरले तयारी गरेको छ । गत पुस १७ गतेदेखि “जथाभाबी फोहोर फाल्नेलाई जरिवाना गर्ने” अभियानअन्तर्गत हिजो आइतबारसम्म ४ सय ८२ जना कारबाहीमा परेका छन् । फोहोर फाल्नेविरुद्धको कारबाहीले १२ लाख ४६ हजार ५ सय ५ रुपैयाँ जरिवाना असुलपनि भएको मियाँले जानकारी दिए ।
‘जरिबाना गर्दा समेत जथाभावी फोहोर फाल्ने प्रवृत्तिमा खासै परिवर्तन नआएपछि मुद्दा चलाउने तयारी गरेका हौँ,’ मियाँले भने, ‘यस बारे पहिलानै सूचना जारी गरेर नगरवासीलाई जानकारी गराइसकेका छौँ ।’
सफा, स्वच्छ र सुन्दर महानगर बनाउने उद्देश्यका साथ निजी संस्थासँग सहकार्य गरी महानगरका ३२ वटै वडामा दैनिक तीन चरणमा महानगरले नियमित सरसफाइ गर्दै आएको उनले बताए । विगतमा डम्पिङ साइड नहुँदा फोहोरमैला व्यवस्थापनमा समस्या हुँदै आएकोमा चार वर्षअघि महानगरले आफ्नो डम्पिङ साइड समेत सञ्चालनमा ल्याएको छ ।
आर्थिक राजधानीका रूपमा चिनिएको वीरगञ्ज महानगरको पर्यटन प्रवर्द्धनका लागि नगर क्षेत्रको सरसफाइलाई उच्च प्राथमिकतामा राखेर काम गरिएको मेयर राजेशमान सिंहले बताए । महानगरले वर्षायाम अगाडि नै नगर क्षेत्रका नाला सफा गरेर वर्षायाममा हुने डुबानबाट नगरलाई बचाउने शङ्कल्पका साथ नाला सरसफाइ अभियान समेत तीव्र पारिएको सरसफाइ प्रमुख मियाँले बताए ।