मेयर सिंहद्वारा सरसफाई सम्बन्धी सीपमुलक तालिमको उद्घाटन, फोहोरलाई मोहर बनाउनुपर्नेमा जोड
वीरगञ्ज, १७ जेठ । वीरगञ्जमा महानगरस्तरीय सरसफाई सम्बन्धी सीपमुलक तालिम तथा गोष्ठी सुरु भएको छ । महानगरपालिकाको सहयोगमा नेशनल इम्प्लोयमेन्ट डेभलपमेन्ट सेन्टर प्रा.ली.ले आठ दिने तालिमको आयोजना गरेको हो । सरसफाई सम्बन्धी सचेतना फैलाउनुका साथै फोहोरको उचित व्यवस्थापन गरी फोहोरबाट मोहर बनाउने किसिमका सीप सिकाउने अभिप्रायका साथ तालिमको आयोजना गरिएको महानगर प्रमुख राजेशमान सिंहले बताए ।
वीरगञ्ज महानगरलाई सफा र सुन्दर शहर बनाउने महानगरको अभियानलाई सफल बनाउनका लागि फोहोरको सही व्यवस्थापन गर्न सबै सचेत हुनुपर्ने आवश्यक्ता उनले औँल्याए । सरसफाईको क्षेत्रमा परिवर्तन भएपनि पर्याप्त नभएको बताउँदै महानगरले प्राथमिकताका साथ काम गरीरहेको पनि उनले जानकारी गराए । अहिलेसम्म भएको कामले आफू सन्तुष्ट नभएको बताउँदै उनले गल्लीगल्लीका सडक एवम् नालाहरुलाई आफ्नै कार्यकालमा पूर्ण रुपमा सफा बनाउने दृढता देखाएका छन् । तालिमले फोहोरबाट मोहर बनाउन सहयोग पुग्ने उनको विश्वास छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष अजय कुमार बरैले सफा र सुन्दर बनाउने अभियानमा साथ दिन सबैलाई आग्रह गरेका छन् । सबै वडाअध्यक्षहरु सक्रिय भएर आआफ्नो वडालाई सफा बनाएमा महानगर आफै सफा बन्ने बरैको विश्वास छ ।
तालिममा सहभागीहरुलाई नरेश जैसवालले प्रशिक्षक दिइरहेका छन् । तालिमको सहजीकरण आयोजक संस्थाका कार्यक्रम संयोजक सन्दीप तिवारीले गरेका थिए ।