वीरगञ्ज । कबाडी करको नाममा वीरगञ्ज-पथलैया औद्योगिक करिडोरमा पर्ने त्रिभूवन राजपथमा अवैध पैसा असूली गर्ने समूह प्रहरीको नियन्त्रणमा आएको छ ।
स्थानीय सरकारबाट कबाडी कर उठाउने जिम्मा सकारेर राजपथमा भारतबाट आउने मालवाहक ट्रक र अन्य सवारीसाधनसमेतबाट जथाभावी अवैध पैसा असूली गर्ने समूहलाई बारा प्रहरीले नियन्त्रणमा लिएको हो ।
बारा प्रहरीकाअनुसार जबर्जस्ती कर असूल गरिरहेका चार जना पक्राउ परेका छन् । उनीहरुलाई जीतपुरसिमरा उपमहानगरपालिका – २३ स्थितको राजमार्गबाट रङ्गे हात पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ ।
एच एण्ड जे ट्रेडर्स नामको संस्थाले कवाडी कर उठाउने जिम्मा सकारेर मालबाहक तथा खाली सवारी साधनसँग समेत अवैध तरिकाले पैसा असूल गरिरहेको गुनासो पश्चात उनीहरुलाई नियन्त्रणमा लिइएको बारा प्रहरीले जानकारी दियो ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका – २१ निवासी २७ वर्षिय पप्पु गुप्ता, सोही ठाउँमा २५ वर्षिय श्रीकान्त पटेल, बिन्दबासिनी गाँउपालिका – १ निवासी १९ वर्षिय चन्दन कुमार पण्डित र भारत घर भएका २१ वर्षिय सुरजकुमार गुप्ता रहेका छन् ।
उनीहरूलाई ईलाका प्रहरी कार्यालय जीतपुरको नियनत्रणमा राखिएको छ । करिव १० महिनादेखी एच एण्ड जे ट्रेडर्सले यसरी अवैध तरिकाले सवारी चालकलाई डराए धम्काएर पैसा उठाउँदै आइरहेको गुनासो प्रहरीमा परेपछि प्रहरी एकशनमा उत्रिएको हो ।