वीरगञ्ज । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले जलजले स्थित उदयपुर सिमेन्ट उद्योग लिमिटेडको अनुगमन तथा निरीक्षण गरेका छन् । मन्त्री रिजालले उद्योगको प्लान्ट तथा खानि क्षेत्रको स्थलगत अनुगमन तथा निरीक्षण गरेका हुन् ।
उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले मन्त्री रिजाललाई प्लान्ट तथा खानि क्षेत्रको स्थलगत जानकारी गराए । अनुगमनका क्रममा मन्त्री रिजालले उद्योगको खानि विभागमा कार्यरत कर्मचारीहरुसंग भेट गरे । कर्मचारीहरूले मन्त्री रिजाल समक्ष आफ्ना समस्या तथा गुनासो राख्दै सम्बोधन गरिदिन आग्रह गरेका थिए । अनुगमन तथा निरीक्षणमा आफ्नो मुख्य उद्देश्य नै कर्मचारीहरूको भावना बुझ्ने बताउँदै मन्त्री रिजालले यथाशिग्र सबै समस्याको समाधान गर्ने तर्फ आफू अग्रसर रहने बताए ।
मन्त्री रिजालले उद्योग परिसरमा समेत उद्योगमा कार्यरत कर्मचारीसँग भेट गरे । भेटका क्रममा उद्योगभित्रका चार युनियन (समग्र उद्योग ट्रेड युनियन नेपाल, नेपाल कारखाना श्रमिक संघ, अखिल नेपाल औद्योगिक मजदुर संघ र नेपाल औद्योगिक मजदुर सङ्गठन) ले साझा धारणा सहित मन्त्री रिजाललाई ज्ञापन पत्र बुझाएका थिए । बेला बेलामा उद्योग बन्द हुने गरेको लगायतका समस्याहरू सम्बोधन गरिदिन आग्रह गर्दै चार युनियनले निरन्तर उद्योग चल्ने वातावरणको सृजना गरिदिन मन्त्री रिजाललाई आग्रह गरे ।
उद्योग अवलोकनका क्रममा मन्त्री रिजालले जीर्ण भएका मेसिनहरू प्रति चासो देखाए । मेसिनका पार्टपुर्जा फेर्नु पर्ने, नयाँ मेसिन जडान गर्नु पर्ने भए सो अनुसार व्यवस्था गरी उद्योग सञ्चालनलाई निरन्तरता दिन मन्त्री रिजालको जोड रहेको थियो । उद्योग सञ्चालन र यसको निरन्तरताका निमित्त उद्योग मन्त्रालय गम्भीर रहेको बताउँदै मन्त्री रिजालले अपुग आवश्यक रकमका लागि प्रधानमन्त्री कार्यालय, तथा अर्थ मन्त्रालयसँग आफूले कुरा गर्ने बताएका छन् ।