वीरगञ्ज । विश्व नर्सिङ् दिवसका अवसरमा वीरगञ्जस्थित नारायणी अस्पतालकी नर्स हेमा थापा सम्मानित भएकी छिन् । स्वास्थ्य पत्रकार समूह पर्साले दिवसकै अवसरमा विगत तीन दशकदेखि कार्यरत थापालाई कदर पत्रमार्फत सम्मान गरेको हो ।
स्वास्थ्य पत्रकार संघ पर्साका अध्यक्ष राजेन्द्र सिंहकाअनुसार थापाको सक्रियता र निरन्तरताको कदर गर्दै कदर पत्रमार्फत सम्मान गरिएको हो ।
नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष एवम् मधेश प्रदेश ईन्चार्जसँगै नारायणी अस्पाललका बरिष्ठ फिजिसियन डा. निरज कुमार सिंह र स्वास्थ्य पत्रकार समूह पर्साका अध्यक्ष राजेन्द्र सिंहले कदर पत्र प्रदान गरेका हुन् ।
कदर पत्र प्रदान गर्दै बरिष्ठ फिजिसियन डा. सिंहले थापाको सक्रियताको सह्राना गरे । थापाले कोभिड १९ को महामारीमा पनि अग्रपंक्तीमा खटिएको गरेको काम सह्रानीय रहेको बताउँदै उनले थापाबाट अरुले पनि अनुकरण गर्नुपर्ने बताए ।
नारायणी अस्पतालमा लामो समयदेखि निरन्तर जनमुखी काम गर्दै आएकी थापा विशेष गरी प्रसुती गृहमा भएका समस्या र तीनको समाधानका लागि पनि पहल गर्दै आएकी छिन् । यसअघि उनी राष्ट्रपतिबाट समेत राष्ट्रिय सम्मानबाट विभुषित भइसकेकी छिन् ।
सम्मान ग्रहण गर्दै थापाले स्वास्थ्य पत्रकार समूहले सम्मानसँगै जिम्मेवारी पनि थपिदिएको प्रतिक्रिया दिइन् । साथै उनले आगामी दिनमा अझै कर्तव्यनिष्ठ भएर काम गर्ने ऊर्जा थपिएको बताइन् ।