सिरहा । सिरहामा पछिल्लो समय गाँजाको खेती तथा तस्करी व्यापक रुपमा भइरहेको पाइएको छ । जिल्लाको पूर्व पश्चिम लोकमार्गअन्तर्गत पर्ने कर्जन्हा, मिर्चैया, गोलबजार, धनगढीमाई र लाहान नगरपालिकाको उतरी चुरे क्षेत्रमा वर्षौँदेखि किसानहरुले गाँजा खेती गर्ने र तस्करहरुले खुल्ला सीमानाकाको बाटो प्रयोग गरी भारत निकासी गर्ने गरेको पाइएको हो ।
शनिबार मात्रै प्रहरीले जिल्लाको गोलबजारबाट करिब १४ केजी लागूऔषध गाँजासहित दुई युवक पक्राउ गरेको छ । प्रहरीले गोलबजार नगरपालिका ४ शिवमन्दिर नजिकबाट १३ केजी ८४० ग्राम गाँजासहित गोलबजार १ मुक्सारका २६ वर्षीय महेन्द्र साह र वडा नम्बरर २ का ३६ वर्षीय श्यामकुमार साहलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक डुपेन्द्र बुढाथोकीले जानकारी दिए ।