सिराहा । सिराहाको गोलबजारबाट करिब १४ केजी लागु औषध गाँजा सहित दुई युवक पक्राउ परेका छन् । प्रहरीले गोलबजार नगरपालिका ४ शिवमन्दिर नजिकबाट १३ केजी ८ सय ४० ग्राम गाँजा सहित गोलबजार नपा १ मुक्सारका २६ वर्षीय महेन्द्र साह र वार्ड नम्बर २ का ३६ वर्षीय श्याम कुमार साहलाई प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा गोलबजार नपा ४ शिवचौक नजिक पार्किङ गरिराखेको प्र.२–०१–००२ ह. ०२९८ नम्बरको अटोमा लुकाइछिपाई राखेको ५ किलो ८ सय ४० चालीस ग्राम गाँजासहित महेन्द्र साह र प्र. २–०१–००१ ह. १०५६ नम्बरको अटोमा लुकाइछिपाई राखेको ८ किलो गाँजासहित वाडा नक्वर २ का श्याम कुमार साहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
विशेष सुराकीको अाधारमा केन्द्रीय अनुसन्धान लागु औषध विशेष ब्युरो र इलाका प्रहरी कार्यालय गोलबजारका निमित्त प्रमुख सई विश्व बुढाथोकीको कमान्डमा खटिएको टोलीले गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डिएसपी रवीन्द्रराज पाण्डेले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।