वीरगञ्ज, २१ बैशाख । वीरगञ्ज महानगरपालिकालाई महानगरमा रहेका चार वटा विद्यालयमा पूर्ण रुपमा अंग्रेजी माध्यममा पठनपाठन गराउने बाटो खुलेको छ ।
उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले सर्वसाधारणका छोराछोरीले समेत निशुल्क अंग्रेजी माध्यममा पठनपाठन गर्न पाउने मनसायले महानगरले ४ वटा विद्यालयमा अंग्रेजी माध्यम सुरु गरेको देखिएको भन्दै यस अघि गरेको अल्पकालिन आदेस खारेज गरेसँगै पठनपाठन गराउने बाटो खुलेको हो ।
अदालतले गएको १४ गते महानगरले अघि बढाएको योजना तत्कालका लागि यथास्थितिमा राख्न अल्पकालिन आदेस दिँदै बिहीबारका लागि छलफलमा बोलाएको थियो ।
बिहीबार दुबै पक्षको बहस पछि अदालतले अल्पकालिन अन्तरिम आदेश निरन्तरता दिइरहनु पर्ने नदेखिएको भन्दै नियमानुसार गर्न आदेश दिएको हो ।
पूर्ण रुपमा अंग्रेजी माध्यमको पठनपाठन गराउने महानगरको निर्देशनबिरुद्ध अभिनय गुप्ताले वीरगञ्ज महानगरसहितलाई बिपक्षी बनाई उच्च अदालतमा उत्प्रेरण परमादेशको रिट दायर गराएका थिए ।
बिहीबार उक्त रिटमाथि सुनुवाई गर्दै अदालतका न्यायाधीश लेखनाथ पौडेल र सुदर्शनदेव भट्टको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।
महानगरको तर्फबाट अधिक्ता कमलमोहन पोखरेल, प्रमोद प्रसाद र कानुन अधिकृत ईशवर बरालले बहस गरेका थिए भने निवेदकको तर्फबाट अधिवक्ता सुधिर कुमार कर्णले बहस गरेका थिए ।
वीरगञ्ज महानगरपालिकाले यसै शैक्षिक सत्रबाट त्रिजुद्ध, नृसिंह, माइस्थान विद्यापीठ र सिदार्थ माविमा पूर्ण रुपमा अंग्रेजी माध्यममा पढाउन सुरु गरेको छ ।