वीरगञ्ज । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको नेतृत्वमा काठमाडौंको माइतीघरमा जारी आन्दोलनलाई समर्थन जनाउँदै देशैभरीवाट ऐक्यबद्धता जनाउन सुरु भएको छ।
शनिबार साँझ देशको आर्थिक राजधानी वीरगञ्जस्थित घण्टाघर चोकमा पुनको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै एक दर्जन भन्दापनि बढी युवाले प्लाकार्डमा लेखिएको विभिन्न नारा लिएर केही बेर शान्तिपूर्ण प्रदर्शन गरेका थिए ।
‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक जनआन्दोलन’को नारा लिएर माइतीघर मण्डलामा गत शुक्रवारदेखी धर्नामा बसेका पुनको आन्दोलनलाई समर्थन जनाउँदै युवाहरुले देशैभरीवाट क्रमशः प्रदर्शन सुरु गरेका हुन् । वीरगञ्जमा प्रदर्शन गर्ने युवाहरुले पुनले उठाएका मागलाई सरकारले तत्कालै सम्बोधन गर्नुपर्ने माग गरे ।
‘वीरगञ्ज, इलाम, सिमरा, चितवन, नेपालगञ्ज र पोखरामा पनि अनुसन्धान, नबप्रबर्तन र आबिष्कारको जनआन्दोलनको समर्थनमा आन्दोलन गरिरहेको समाचार आएको छ,’ पुनले आफ्नो आन्दोलनको समर्थनमा भएका प्रदर्शनवारे जानकारी दिँदै भनेका छन्, ‘इच्छा हुनेहरुले जहाँ र जे जसरी पनि आन्दोलन गरे हुन्छ ।’