वीरगञ्ज । वीरगञ्जको भन्सार कार्यालय अगाडि मुखलाल साहले ठेला राखेर चियाखाजा बेच्छन्।
सडकपेटीमा ठेलापसल चलाउने उनी वर्षदिनअघिसम्म फोहोर र धुलोले हैरान थिए। धुलोबाट जोगाउन ठेला चारैतिरबाट प्लास्टिकले छोप्नुपर्थ्यो। नालाको दुर्गन्ध उस्तै थियो। आफू मास्क लगाएर पसलमा बस्थे। धुलो र दुर्गन्ध छल्न बाटो हिँड्नेहरू नाक थुन्थे। उनको पसलमा चिया खान कुर्सीमा बस्नु पनि ग्राहकका लागि सकसको कुरा थियो।
अहिले उनी र उनका ग्राहक यस्तो सकसबाट मुक्त भएका छन्। न प्लास्टिकले ठेला छोप्नु परेको छ न मास्कले नाकमुख।
वीरगञ्ज महानगरपालिकाको मेयरका रूपमा राजेशमान सिंहले कार्यभार सम्हालेपछि सरसफाइमा फड्को मारेको स्थानीयवासीहरूको भनाइ छ।
महानगरमा जनप्रतिनिधिको नयाँ टिम आएपछि दैनिक तीन पटक सडक र नाली सफाइ हुने गरेको छ। सरसफाइ शाखा प्रमुख सरफुदिन मियाँका अनुसार सरसफाइमा चुस्त व्यवस्थापनसहित काम भइरहेको छ।
सरसफाइको ठेक्का पाएको ‘पृथ्वीतारा कन्स्ट्रक्सन’ का र महानगरका सफाइ कर्मचारीले दिनको तीनपटक सरसफाइ गर्ने गरेको उनले बताए।
बिहान साढे पाँच बजे, दिउँसो एक बजे र बेलुकी सात बजे दैनिक सरसफाइ हुने गरेको छ। कम्पनीले झाडु लगाएर सडक सफाइ गरेपछि फोहोर ल्यान्डफिल साइटसम्म पुर्याउँछ। महानगरका कर्मचारीले नाला सफाइको काम गर्छन्।
वीरगञ्ज महानगरले सडक सफाइका लागि ‘पृथ्वीतारा कन्स्ट्रक्सन कम्पनी’सँग सम्झौता गरेको छ। कम्पनीले महानगरबाट मासिक ४६ लाख रुपैयाँ पाउँछ।
कम्पनीले प्रत्येक वडामा सात जना सफाइ कर्मचारी खटाएको छ। महानगरले पनि सात जना नै खटाएको छ। यसरी एउटा वडामा १४ जना कर्मचारीले दैनिक तीन पटक सफाइको काम गर्छन्।
संकलित फोहोर बारा जिल्लासँगको सीमानामा पर्ने नगवास्थित महानगरको ल्यान्डफिल साइटमा विसर्जन गर्ने गरिएको छ। स्थानीय तहको दोस्रो निर्वाचनबाट जनप्रतिनिधिको नयाँ टिम आउनुअघि दैनिक दुई पटक सफाइको काम हुन्थ्यो।
महानगरको सरसफाइ शाखामा अहिले ३०८ जना सफाइ कर्मचारी छन्। यसअघि सफाइ कर्मचारीको संख्या आवश्यकताभन्दा निकै कम थियो।
हालका मेयरमा आउनुअघि एउटा वडामा महानगरका दुई जना सफाइ कर्मचारीले काम गर्थे। जनप्रतिनिधिको नयाँ टिमले प्रत्येक वडाका लागि पाँच जनाका दरले सफाइ कर्मचारी थप्यो।
सहरी क्षेत्रमा मात्र नभई ग्रामीण क्षेत्रमा पनि राम्रो सरसफाइ भइरहेको घण्टाघरका श्याम सर्राफले बताए।
उनले भने ‘पहिले सरसफाइको काम राम्ररी हुँदैनथ्यो। मुख्य सडकमा मात्र हुन्थ्यो। अचेल जतातै ट्याक्टर कुदेको देख्छु। सरसफाइ राम्रो भएको छ।’
वीरगञ्ज महानगरका वडा नम्बर १ देखि १६ सम्म सहरी क्षेत्र छन्, १७ देखि ३२ सम्म ग्रामीण क्षेत्र।
महानगरमा सरसफाइका लागि दुई वटा हिज क्लिनिर, दुई वटा सक्सन मेसिन, चार वटा जेसिबी र १० वटा ट्याक्टर छन्।
चालु आर्थिक वर्षमा फोहोर व्यवस्थापनका लागि महानगरले ६ करोड ८० लाख रुपैँया विनियोजन गरेको छ। ल्यान्डफिल साइट व्यवस्थापनका लागि अलग्गै चार करोड २० लाख रुपैयाँ छुट्याएको छ।
वीरगञ्ज महानगरले सरसफाइमा प्राथमिकता दिएपछि उनी ठेलाको व्यापारमा रमाएका छन्। मानिसहरू चैनले बाटो हिँडेको देखेर पनि उनलाई मजा लाग्छ।
मुखलालले सडक यति चिटिक्क होला भन्ने कहिलै सोचेका पनि थिएनन् रे।
‘पहिले कच्ची सडकमा धुलैधुलो हुन्थ्यो। खाजामा धुलो पथ्र्यो। नाला र सडक छेउमा जम्मा भएको फोहोरले बहुत दुर्गन्ध हुन्थ्यो,’ मुखलालले भने, ‘अहिले त सरसफाइमा कायापलट नै भएको छ। सबैतिर चिटिक्क छ।’
वीरगञ्ज महानगरपालिकाले नगर सफाइको काममा निकै ठूलो फड्को मारेको छ। वर्षामा हिलाम्य र सुख्खामा धुलाम्य हुने वीरगञ्जका मुख्य सडकहरू अचेल चिल्ला भएका छन्। भित्री बाटाहरूमा पनि फोहोर छैन।
वीरगञ्ज महानगरको सरसफाइ शाखामा सबै कर्मचारी पुराना छन् तर विगतभन्दा राम्रो काम कसरी भइरहेको छ त?
‘काम गर्न पहिले नियत ठिक हुनुपर्छ। व्यवस्थापन बदलिएको छ। हामीले काम गर्ने शैली बदलेका छौँ। सरसफाइमा नो एक्सक्युज (माफी छैन), शून्य सहनशीलता अभियान चलाएका छौँ,’ शाखा प्रमुख मियाँ भन्छन्, ‘मेयरसाब (सिंह) निर्वाचित भएर आएदेखि नै सरसफाइमा दृढ
भएर काम गर्न कडा निर्देशन दिनुभएको छ। हामीले निर्देशन पालना गरेका छौँ।’
महानगरले सफाइमा जोड दिएको छ तर जथाभावी फोहोर फाल्न रोकिएको छैन। महानगरले जथाभावी फोहोर फाल्नेलाई जरिवाना पनि गर्ने गरेको छ तर आँखा छल्ने क्रम चलेकै छ।
महानगरको पूर्ववर्ती जनप्रतिनिधि टिमले पनि जरिवाना गराउँथ्यो तर कार्यान्वयन राम्रो हुन सकेको थिए।
मियाँले भने, ‘हरेक व्यक्ति कुनै न कुनै पार्टीसँग जोडिएकाले दबाब आउँथ्यो। अघिल्लो मेयरसाबले जरिवाना गर्न दिनुभएन तर अहिलेका मेयरसाबले जतिसुकै ठूलो मान्छे भए पनि कारबाही गर्नू भन्नुभएको छ। हामीले त्यसैअनुसार काम गरेका छौँ।’
उनका अनुसार महानगरले पाँच सयदेखि ११ हजार रुपैयाँसम्म जरिवाना गर्ने गरेको छ।
जथाभावी फोहोर फाल्ने व्यक्तिलाई कम्तीमा पाँच सय रुपैँया जरिवाना हुन्छ। संघसंस्था र बैंकलाई कम्तीमा पाँच हजार जरिवाना हुन्छ।
उनी भन्छन्, ‘जथाभावी फोहोर फाल्ने क्रम धेरै घटेको छ तर बन्द भएको छैन।’
जरिवाना तिराउन सुरु गरेदेखि सडकमा फोहोर फाल्ने प्रवृत्ति निकै कम भएको नगरवासीवासीहरू बताउँछन्। वडा नम्बर १३, तेजारथ टोलका शत्रुधन गिरीका अनुसार जरिवाना लाग्ने भएपछि मानिसहरू सचेत भएका छन्।
‘फोहोर उठाउने गाडी साइरन बजाउँदै दिनदिनै आउँछ। पहिले फोहोरको पैसा लाग्थ्यो, अहिले फ्रीमा (निःशुल्क) उठाउँछ,’ उनी भन्छन्, ‘अहिले धेरै सजिलो भएको छ। फोहोर जम्मा हुन पाउँदैन। जरिवानाको डरले सितिमिति कसैले पनि सडकमा फोहोर फाल्दैन।’
उनका अनुसार महानगरमा अरू खास काम नभए पनि फोहोर व्यवस्थापनमा राम्रो प्रगति भएको छ। बिहान सडकमा ब्रुमर चल्छ। सडक सफा छ।
वीरगञ्ज महानगरले फोहोरको जरिवाना बापत चार महिनामा करिब पाँच लाख रुपैयाँ उठाएको छ। हालसम्म करिब तीन सय व्यक्ति तथा केही संस्था जरिवानामा परेका छन्।
‘जरिवाना असुलेर राजस्व बढाउने हाम्रो लक्ष्य होइन। हामी त सुधार होस्, जरिवाना लिन नपरोस् भन्ने चाहन्छौँ। जरिवानाले नभए सार्वजनिक मुद्दा चलाउने कुरा पनि चलेको छ,’ सरसफाइ शाखा प्रमुख मियाँ भन्छन्, ‘दुईचार जनाविरुद्ध मुद्दा पर्यो भने मानिसहरू धेरै सचेत होलान्।
सकेसम्म यस्तो अवस्था नआओस् भन्ने महानगरको चाहना रहेको पनि उनले बताए।
वीरगञ्ज महानगरले सरसफाइमा राम्रो काम गरिरहे पनि सडक किनारामा साधारण फोहोर फाल्ने भाँडो (डस्बिन) राखेको देखिँदैन। डस्बिन नहुँदा प्लास्टिकका बोतल, पोलोथिन झोला, बिस्कुट र चकलेटका खोलजस्ता सुख्खा फोहोर बाध्यताबस सडकमै फाल्नुपर्ने स्थिति छ।
यस्तो अवस्था ध्यानमा राखेर डस्बिन राख्ने तयारी भरहेको मियाँले बताए। उनले भने, ‘सडकपेटीमा छिटै ५०–६० वटा डस्बिन राख्ने तयारी गरेका छौँ।’
कतिपय नगरवासीहरू भने पहिलेको तुलनामा सरसफाइमा निकै राम्रो काम भए पनि हुनुपर्ने जति अझै नभएको मान्छन्।
वडा नम्बर ९ का अजित पटेल भन्छन्, ‘नालाहरू अझै गनाएकै छन्। नाला सफाइ राम्रो नहुँदा गर्मीमा मच्छर (लामखुट्टे) को आतंक बढेको छ।’
महानगरले ‘सफा नेपाल’ नामको एप पनि सुरु गरेको छ। एपबाट जसले पनि सूचना दिनसक्छ।
‘कुन ठाउँमा फोहोर छ, कसले फोहोर गरेको छ भनेर तस्बिरसहित पोस्ट भएमा तुरुन्तै महानगरले जरिवाना गर्छ,’ मेयर सिंहका प्रमुख स्वकीय सचिव सत्यराज घिमिरेले भने, ‘फोहोर फाल्ने व्यक्तिका बारेमा जानकारी दिनेलाई जरिवानाको केही प्रतिशत रकम पुरस्कार दिने हाम्रो तयारी छ।’
आगामी आर्थिक वर्षमा सरसफाइमा अझै नयाँ ढंगबाट काम गर्ने र नगरवासीले गुनासो गर्ने ठाउँ नराख्ने महानगरका अधिकारीहरूको भनाइ छ। सभार : सेतोपाटी